प्रदेश नं १ मा जनता चाहेजस्तै विकास हुन्छ: मुख्यमन्त्री राई

फाइल तस्बिर:बिएल

मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा जनताले चाहेजस्तै विकास गरेर छाड्ने बताउनुभएको छ । शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर कमिटी भोजपुरले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यहाँका स्रोत र साधनलाई अधिकतम प्रयोगमा ल्याएर विकासको चरणमा अगाडि बढाउने धारणा राखे ।

मुख्यमन्त्री राईले भने, “यो प्रदेशलाई समृद्ध बनाउने गरी मैले काम अगाडि बढाएको छु, प्रदेशसँगै भोजपुर पनि समृद्धिको बाटोमा अगाडि बढ्छ ।” विकासका लागि सबैले प्रत्येक सेकेन्डको महत्वलाई बुझेर काम गर्नुपर्ने राईको भनाइ थियो । मुख्यमन्त्री राईले भने, “तपाईँ हामी यो देशका सचेत नागरिक हौँ, हामीले प्रत्येक सेकेन्ड समयको महत्वलाई बुझेर जिम्मेवारी वहन गर्न आवश्यक छ ।”

प्रदेश सरकारले विकासका लागि प्राथमिकताका आधारमा प्रशस्त बजेट विनियोजन गरेको भए पनि काममा सोचेअनुरुप खर्च नभएकामा भने उनले चिन्ता व्यक्त गरे । उनले आफ्नो क्षेत्रमा भइरहेका कामको जनता आफैँले पनि अग्रसर भएर निगरानी गर्नुपर्ने बताए । मुख्यमन्त्री राईले भने, “विकास गर्नका लागि हामीले करोडौँ बजेट छुट्याएका छौँ र काम पनि भइरहेको छ तर जनताको तर्फबाट पनि भइरहेको काममा निगरानी र खबरदारी हुनुप¥यो ।”

प्रदेशबाट सञ्चालन हुने कामलाई प्रभावकारी, गुणस्तरीय र जनमुखी तवरले सम्पन्न गराउन अनुगमन समिति गठन गर्ने तयारी भइरहेको उनको भनाइ छ । आफूले भ्रष्टाचारमा शून्य सहनशीलता कायम गरेको बताउनुहुँदै उहाँले प्रमाणसहित आफूलाई जानकारी दिए एक घण्टाभित्र कारवाही गर्नेसमेत बताए।

मुख्यमन्त्री राईले भोजपुरको मुन्दुम ट्रेलको विकासका लागि रु दुई करोड विनियोजन गरेको जानकारी दिए । उनले जिल्लाका ठूला सडक र पक्की पुलको काम आफ्नै कार्यकालमा सम्पन्न गर्ने बताए । आगामी आर्थिक वर्षभित्र भोजपुरका सबै जनता विद्युत्को पहुँचमा पुग्नेसमेत जानकारी दिए ।

प्रकाशित मिति: : 2019-10-26 15:10:14

प्रतिकृया दिनुहोस्