महामन्त्री कोइरालाको प्रश्न- रेल चलाउन सक्ने हो कि हैन?, ल्याएर ऋणमा डुबाएर मात्रै के गर्ने ?

फाइल तस्बिर:बिएल

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका महामन्त्री एव‌ं सांसद शशांक कोइरालाले चीनबाट रेल ल्याउन आवश्यक नभएको बताएका छन् । उनले चीनबाट रेल ल्याउनै परेपनि ऋणमा ल्याउन नहुने बताएका छन् ।

नेपाल प्रेस युनियन चितवन शाखाले शनिबार बिहान भरतपुरमा आयोजना गरेको तिहार शुभकामना कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले चीनबाट रेलमा पर्यटक ल्याउनु असम्भव कुरा भएको कोइरालाले बताए ।

रेल ल्याउँदा अनुदानमा आउने हो कि हैन, चलाउन सक्ने हो कि हैन, रेल ल्याएर ऋणमा डुब्ने हो कि जस्तो पक्षमा ख्याल गर्नु पर्ने उनले बताए । भारतसँग सरकारले अनुदानमा रेल ल्याउन थालेको समाचार पढेको उनले बताए ।

‘भारतसँग रेलको अग्रिमेन्ट हुँदै गरेको समाचार भर्खर पढेँ । उनीहरुले अनुदानमा रेल दिदैछन् । अनुदानमा आएको ठिकै हो । तर, ऋणमा डुबाएर रेल ल्याउनुको औचित्य छैन’ महामन्त्री कोइरालाको भनाइ थियो ।

सरकारले उचित सपना बोक्न छाडेर पानी जहाज चलाउने, रेल चलाउने जस्ता ऋणमुखी सपना बोकेको उनको आरोप थियो । उनले भने ‘टुरिष्ट त जहाजबाट नै आउँछन् ।’ रेलको सम्भावना भएपनि त्यो अनुदानमा हुनुपर्ने उनले बताए ।

प्रकाशित मिति: : 2019-10-26 14:07:13

प्रतिकृया दिनुहोस्