दशैंका लागि शुक्रबारदेखि नयाँ र सुकिला नोट साट्न पाइने, कहाँ-कहाँबाट बाँडिदै छ ?

फाइल तस्बिर

दशैंका लागि शुक्रबारदेखि नयाँ र सुकिला नोट साट्न पाइने भएको छ । असोज १७ गतेसम्म राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका शाखाहरु वा आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट नयाँ र सुकिला नोट साट्न सक्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका अनुसार, उपत्यकाभित्र विभिन्न बैंकसँग मिलेर ५, १०, २०, ५० र १०० दरका नोट सटही गर्ने व्यवस्था मिलाइएको छ । १८ हजार ५ सय भन्दा धेरै आवश्यक पर्नेलाई भने नयाँ नोटकको सट्टा पुरानो तर सुकिला नोट साट्ने व्यवस्था मिलाइएको छ ।

मुद्रा व्यवस्थापन विभाग, बालुवाटारबाट मात्रै नयाँ नोट वितरणको चाजो पाजो मिलाइएको जनाएको छ । थापाथलीस्थित कार्यालय निर्माणाधीन रहेकाले नोट सटही सुविधा अन्यत्रबाट दिइएको हो ।

उपत्यकाभित्र राष्ट्र बैंकका अतिरिक्त नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक लिमिटेडका शाखाबाट पनि सेवाग्राहीले नयाँ नोट सटहीको सुविधा लिन सक्नेछन् ।

राष्ट्र बैंकका अनुसार, नेपाल बैंक लिमिटेडका उपत्यकास्थित ७ वटा शाखाबाट नयाँ नोट वितरण गरिने व्यवस्था मिलाइएको छ । न्युरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट सटहीको व्यवस्था मिलाइएको हो ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजास्थित केन्द्रीय कार्यालयसँगै सिंहदरबार परिसर, टेकु, नयाँ बानेश्वर , सानो थिमि, विशाल, बजार, नक्साल, बालाजु, लुभु र टोखा शाखाबाट पनि नयाँ नोट बाँड्न थालेका छन् ।

राष्ट्र बैंकका अनुसार, कृषि विकास बैंकले उपत्यकाका ६ वटा शाखाबाट नयाँ नोट वितरण भइरहेको छ । गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट रकम वितरण हुने भएकाले ती स्थानबाट नोट सटही गर्न राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले सुझाएको छ ।

राष्ट्र बैंकले यसका अतिरिक्त अन्य बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट उपलब्ध गराएको छ । राष्ट्र बैंकका अनुसार, आफ्ना खाता भएका वित्तीय संस्थाबाट पनि सेवाग्राहीले नयाँ नोट साट्न सक्नेछन् ।

राष्ट्र बैंकका अनुसार उपत्यका बाहिर विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयबाट उपत्यकामा जस्तै असोज १० देखि १७ गतेसम्म नयाँ नोट वितरण हुनेछ ।

 

प्रकाशित मिति: : 2019-09-27 11:39:17

प्रतिकृया दिनुहोस्