मानव हितका कार्य गर्न सिंजा सभ्यताको शुरुवात भएको हो: उपराष्ट्रपति पुन

तस्बिरः महेश नेपाली

उपराष्ट्रपति नन्द बहादुर पुनले शासकीय हिसाबले मानव हितका कार्य गर्न सिंजा सभ्यताको शुरुवात भएको बताएका छन्।

कनकासुन्दरी गाउँपालिकामा शुक्रवारदेखि सुरु भएको तीन दिने पर्यटन तथा सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै उनले सिंजा सभ्यताको सुरुवात मानवीय हितका लागि भएको बताएका हुन्।

उनले हाल नेपाली राज्यले अपाएको भाषाको उत्पत्ति सिंजा सभ्यताबाट भएको समेत बताए। ‘अहिले हामीले बोलिरहेको भाषा यहीँबाट उत्पति भएको हो। हरेक मान्छेका व्याख्या गर्ने शैली फरक छन्। तर यो उपत्यकाबाट खस भाषा मात्रै नभइ खस सभ्यता समेत बन्यो।’ उनले भने, ‘सिंजाको अस्तित्व खस राजाहरुले निर्माण गरेका थिए। खस भाषा उत्पति गर्ने सिंजाबासीलाई उच्च प्रसंसा गर्दछु।’

भाषणको क्रममा उनले सबैलाई एक पटक सिंजा पुग्न अपिल समेत गरेका छन्। उनले सिंजा सभ्यता नेपालको पुरानो सभ्यता भएको र खस भाषाको उद्गम स्थल भएकोले सबै नेपाली लगायत विदेशी समेतले एक पटक सिंजा घुम्नै पर्ने बताए। उनले भने ‘सिंजा जीवनमा एक पटक नपुगी नहुने क्षेत्र हो। देशी तथा विदेशी सबैलाई सके पटकपटक नसके एक पटक जसरी पनि आउन म अपिल गर्दछु।’

सिंजा आर्थिक, सामाजिक, सांस्कृतिक हिसावले सिंजा अघि बढ्न नसकेको बताए। ‘सिंजा समृद्धिका लागि प्रचारप्रसार गर्न जरुरी छ। आफ्नो अस्तित्वका लागि आफै सचेत रहन सिंजाबासीलाई आग्रह गर्दछु।’ उनले भने, ‘बौद्धधर्मालम्वीहरु एक पटक लुम्वीनी नपुगेर फर्कदैनन्, हरेक नेपालीले एक पटक सिंजामा पनि त्यसरी नै पुग्न जरुरी छ।’

उनले आफूलाई सिंजा भुमिमा आउने अवसर मिलेमा खुसी व्यक्त गरे। उपराष्ट्रपति पुनले एक पटक सिंजा सभ्यताका अध्ययन गर्न पाउने व्यवस्था मिलाउनको लागि कर्णाली प्रदेश सरकारलाई आग्रह गरे। ‘सिँजा सभ्यतालाइ नेपाली माझ मात्र नभइ विश्वमाझ चिनाउनको लागि प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण गराउँदछु। आफ्नो भाषा संरक्षण नगरि यहाँको पहिचान जोगाउन सकिने अवस्था छैन्। त्यसका लागि विद्यालय स्तर देखि नै यहाँको इतिहासको पठनपाठन गर्न जरुरी छ। विदेशी भाषाको प्रयोग निरुत्साहित गर्न जरुरी छ।’ उनले भने,‘यहाँको उत्पादित वस्तु, वनपाखा, डाँडाकाडा, मठमन्दिर, घर आँगनको नाम पनि खस भाषामै राखौँ।’

जबसम्म कर्णाली सुखी र समृद्ध बन्न सक्दैन, तबसम्म सिंगो नेपाल खुसी र सुखि हुन नसक्ने बताए। ‘यहाँ पाइने ८२ प्रकारको जडिबुटीको संरक्षण गर्न आवश्यक छ। कर्णाली राजमार्गको स्तरउन्नती जरुरी छ। यहाँ उत्पादित मार्सी धान, सिमि फापर, कोदो, चिनो, स्याउ र उनीका कपडा सबैलाई ब्राण्ड बनाउन जरुरी। यहाँ जलविद्युतका संभावना पनि छन्। जल, जमिन र जंगलको उचित प्रयोग गर्न समेत जरुरी छ’ उनले भने।

उपराष्ट्रपति पुन महोत्सव उद्घाटन पछि काठमाडौं प्रस्थान गरेका छन्। महोत्सवलाई कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पनि संवोधन गरेका थिए।

कार्यक्रममा खस भाषाका विभिन्न सांस्कृतिक झाँकीहरु देखाइएका थिए भने यहाँका खस राजाहरुले प्रयोग गर्ने परम्परागत सामाग्री समेत प्रचारप्रसारका लागि राखिएको छ।

प्रकाशित मिति: : 2019-10-25 18:14:08

प्रतिकृया दिनुहोस्