विकास निर्माणमा गम्भीर हुन मन्त्री भट्टराईको आग्रह

फाइल तस्बिर

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विकास निर्माणको काममा लापरवाही हुन थालेको प्रति चिन्ता व्यक्त गरेका छन् । विकास निर्माणका लागि गठित उपभोक्ता समितिबाट समयमा काम नहुने र हिनामिना गर्ने प्रवृत्ति बढ्दै गएको उनले बताए।

ताप्लेजुङमा शुक्रबार आयोजित स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम परामर्श समितिको बैठकमा बोल्दै मन्त्री भट्टराईले हरेक आयोजनाहरु समयमा सम्पन्न नहुँदा र ती आयोजनाबाट जिम्मेवार पक्षले नाजायज फाइदा लिँदा समृद्धिको सपना पूरा हुन नसक्ने स्पष्ट गरे ।

हरेक उपभोक्ता समिति राजनीतिक दलको दबाब र प्रभावमा बन्ने अनि उसैको आड लिएर उपभोक्ता समितिले हिनामिना गर्ने जस्ता प्रवृत्ति बढ्दै गएकाले यसलाई रोक्न सबै राजनीतिक दल र जनप्रतिनिधिलाई उहाँले आग्रह गर्नुभयो ।

बैठकमा ताप्लेजुङबाट निर्वाचित प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख, विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुखलगायत सहभागी थिए । यसैबीच आजै नेकपा ताप्लेजुङले आयोजना गरेको दशैँ तिहार शुभकामना आदानप्रदान कार्यक्रममा समेत मन्त्री भट्टराई सहभागी थिए ।

प्रकाशित मिति: : 2019-10-25 18:05:14

प्रतिकृया दिनुहोस्