जेष्ठ नागरिकले ५ सयमा प्लेन चढ्न पाउने

बिएल

निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सले ८५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई मात्र ५ सय रूपैयाँ भाडामा सेवा दिने भएको छ। कम्पनीका अनुसार आगामी असोज १२ देखि लागू हुने गरी यो योजना ल्याएको हो।

कम्पनीका अनुसार प्रतिउडान दुई जना जेष्ठ नागरिकले उक्त छूट मूल्यमा सेवा प्राप्त गर्नेछन्।

यस्तै ७५ वर्षभन्दा माथिको उमेरका जेष्ठ नागरिकलाई भने इन्धनको मूल्य र करबाहेक भाडामा ५० प्रतिशत छूटको अफर ल्याइएको कम्पनीका प्रवन्धक अनिल मानन्धरले जानकारी दिए।

यसका लागि यात्रा गर्ने व्यक्तिको उमेर खुल्ने सक्कल नागरिकता वा आधिकारिक परिचयपत्र पेश गर्नुपर्ने भएको छ ।

सहुलियत टिकट एयरलाइन्सका बिक्री काउन्टर वा श्री एयरलाइन्सको एप वा वेवसाइटबाट मात्र उपलब्ध हुने भएको छ। चेक इनका बखत उमेर खुल्न नसके छूट नपाइने कम्पनीले उल्लेख गरेको छ।

यो छुटको टिकट रद्द वा परिवर्तन समेत गर्न नपाइने भएको छ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिका नागरिकलाई हवाई यात्रामा ५० प्रतिशत छुटको घोषणा गरेपछि पहिलो पटक नेपाल एयरलाइन्सले ५० प्रतिशत छुट दिने घोषणा गरिसकेको छ।

श्री एयरलाइन्सले ६ वटा कम्पनीबाट आन्तरिक सेवा दिइरहेको छ ।

प्रकाशित मिति: : 2019-09-23 21:57:59

प्रतिकृया दिनुहोस्