म र ओली मुर्ख भएर हाम्फालेपछि मात्रै पार्टी एकता भयोः प्रचण्ड

फाइल तस्बिर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई पार्टीबीचको एकता क्षणिक स्वार्थका लागि नगरिएको बताएका छन् ।

शुक्रबार विराटनगरमा तिहार, छठ र नेपाल सम्वतको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले क्षणिक स्वार्थ वा कुनै व्यक्तिको आकांक्षा पुरा गर्न नभइ मुलुकको हितका निम्ती नै पार्टी एकता गरिएको बताएका हुन् ।

उनले पार्टी एकता हुन्छ भन्ने नै धेरैले पहिला नपत्याएको भन्दै आफु र केपी ओली मुर्ख भएर हाम्फालेपछि मात्रै सम्भव भएको पनि स्मरण गरे । ‘दुइजना मुर्ख कमाण्डर मिल्यौँ । दुईजना मुर्खले हामफाल्दियौ । त्यसलाई सबैले मानिदिए । एउटा मुर्ख केपी ओली एउटा मुर्ख म । हामीले दायाँबायाँ नसोचेर यो नै राष्ट्रवादको आवाश्यक्ता हो भनेर हामफालियो ।,’उनले भने ।

उनले केपी ओली, प्रचण्ड र ईश्वर पोखरेल के हुन् भन्ने कार्यकर्ताले बुझ्नुपर्ने पनि बताए । उनले नयाँ प्रकृयाबाट कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउने आकांक्षामा आफुहरु रहेको भन्दै समाजवादको आधार निर्माण गर्ने सबैको साझा लक्ष्य भएको बताए ।

‘समाजवादउन्मुख राज्य व्यवस्था भनेर संविधानमा पनि लेखिएको छ र हाम्रो पार्टीले पनि समृद्ध नेपाल र सुखी नेपाली भनेर सरकारले समेत समाजवादको आधार निर्माण गर्ने नै कुरा गरेको हो । चीन भारतसँगको सम्बन्धको कुरा गर्दा पनि हामीले त्यही गरेको हो,’ प्रचण्डको भनाई थियो ।

प्रकाशित मिति: : 2019-10-25 17:02:23

प्रतिकृया दिनुहोस्