प्रहरीले सक्यो महराविरुद्धको अनुसन्धान, सरकारी वकिललाई बुझायो प्रतिवेदन

फाइल तस्बिर:बिएल

प्रहरीले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कार प्रयाससम्बन्धी अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौंले २० दिन लगाएर तयार पारेको रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको हो।

स्रोतका अनुसार उनलाई मुलुकी अपराध संहिता ऐन २०७४ को बलात्कार प्रयास र यौन दुर्व्यवहारसम्बन्धी कसुरमा कैद तथा सजायको माग गरिएको छ।

गत असोज १२ गते राति संसद सचिवालयमा कार्यरत महिला रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोक लागेका महरालाई १९ गते बेलुका सरकारी निवास बालुवाटारबाट पक्राउ गरिएको थियो । शाहीले आफूमाथि बलात्कारको प्रयास भएको भन्दै महराविरुद्ध तिनकुने प्रहरी चौकीमा किटानी जाहेरी दिएको बताइएको छ । तर, शाहीले त्यसअघि र पछि उनीमाथि दुर्ब्वयवहार नभएको जाहेरी पनि दिएकी थिइन् । 

घटना भएको भनिएको दुई दिनपछि असोज १४ गते महराले पदबाट राजीनामा दिएका थिए।

महरालाई बिहिबार महानगरीय अपराध महाशाखाले अनुसन्धान नसकिएको भन्दै तेस्रोपटक म्याद थपको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएकोमा न्याधीश सुदर्शनराज पाण्डेको इजलासले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । 

यसअघि पहिलोपटक अनुसन्धान गर्न अदालतले हिरासतमा परेको दिनदेखि लागु हुनेगरी १३ दिनको म्याद दिएको थियो भने दोस्रोपटक पाँच दिनको म्याद थपिदिएको थियो।

स्वास्थ्यमा समस्या देखिएर नर्भिक अस्पतालमा भर्ना भएका महरालाई अस्पतालबाटै सरकारी वकिल कार्यालय र अदालत लगिएको थियो।

प्रकाशित मिति: : 2019-10-25 15:27:32

प्रतिकृया दिनुहोस्