सीजी ग्रुपका राहुल चौधरी प्रभावशाली होटल व्यवसायीको सूचीमा

‘सीजी होटेल्स एन्ड रिसोर्ट’का कार्यकारी निर्देशक राहुल चौधरी ।

भारतको प्रतिष्ठित म्यागेजिन ‘होटेलियर’ले लगातार दोस्रो वर्ष ‘सीजी होटेल्स एन्ड रिसोर्ट’का कार्यकारी निर्देशक राहुल चौधरीलाई शक्तिशाली ३५ व्यवसायीको सूचीमा राखेको छ ।

‘होटेलियर’ले सन् २०१९ का लागि हस्पिटालिटी क्षेत्रमा सफल ३५ प्रभावशाली व्यवसायीको सूची निकालेको हो । राहुल सन् २०१८ को सूचीमा पनि थिए । यो सूचीमा भारतभर होटल तथा रिसोर्ट सञ्चालन र नेतृत्व गर्ने सफल व्यवसायीहरू छन् ।

राहुलले भारतको नयाँदिल्ली मुकामबाट ‘सीजी कर्प ग्लोबल’सँगै ‘सीजी होटेल्स एन्ड रिसोर्ट’को कार्यकारी निर्देशकको जिम्मेवारी निभाइरहेका छन् । ‘सीजी होटेल्स एन्ड रिसोर्ट’ले भारतका विभिन्न स्थानमा ‘ताज’, ‘र्फन’, ‘जिंक’जस्ता स्थापित र प्रसिद्ध चेन होटलमा साझेदारी/लगानी गरेको छ ।

“हामीसँग पहिले १० वटा होटल थिए, सन् २०२० सम्ममा यो संख्या २०० पुग्छ,” राहुलले भने, “थप १५ देशका ९७ पर्यटकीय गन्तव्यमा पुग्नेछौं । त्यतिबेलासम्म हामीसँग १० हजारभन्दा धेरै कोठा हुनेछन्।” विश्वभर होटल सञ्जाल फैलाउने उद्देश्य लिएर हिँडेका राहुल आफू पिता विनोद चौधरीको व्यावसायिक सफलता र सद्गुणलाई आत्मसात गरेर हिँडेको बताउँछन्। उनले भने, “त्यही सफलता र सद्गुणका कारण हामी चीनदेखि न्युयोर्क सिटीसम्म फैलन सकेका हौं।”

‘सीजी होटेल्स एन्ड रिसोर्ट’ले २० मुलुकका १ सयभन्दा बढी होटल सञ्चालन गरिरहेको छ । यी होटल/रिसोर्टमा ६ हजारभन्दा बढी कोठा छन् ।

प्रकाशित मिति: : 2019-09-17 12:49:00

प्रतिकृया दिनुहोस्