साउदी अरबका तेल प्रशोधन केन्द्रमा आक्रमण भएपछि कच्चा तेलको मूल्य ह्वात्तै बढ्यो

REUTERS

काठमाडौं । साउदी अरबको सरकारी स्वामित्वका दुईवटा प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि कच्चा तेलको मूल्य ह्वात्तै बढेको छ । साथै विश्वभर तेल आपूर्ति पाँच प्रतिशतले घटेको छ ।

शनिवार संसारकै सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र अब्काइक र कुरिसमा आक्रमण भएपछि तेल र ग्यासको उत्पादनमा ५७ लाख ब्यारेलले कमी आएको साउदी ऊर्जामन्त्री राजकुमार अब्दुल अजिज बिन सलमानले बताएका छन् । उनका अनुसार यो परिमाण साउदी अरबले गर्ने कुल तेल उत्पादनको झन्डै आधा हो ।

व्यापार सुरु हुँदा ब्रेन्ट कच्चा तेलको मूल्य १९% ले वृद्धि भई प्रतिब्यारल ७१.९५ अमेरिकी डलर पुगेको थियो। त्यसैगरी वेस्ट टेक्सस इन्टरमिडिएट भनिने अर्को कच्चा तेलको मूल्य १५.५% ले बढ्दा प्रतिब्यारल ६३.३४ डलर पुग्यो।

यद्यपि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा सञ्चित तेल वितरण गर्न अनुमति दिएपछि बढेको मूल्य केही घटेको छ।साउदी अरब संसारको सबैभन्दा ठूलो तेल निर्यातकर्ता मुलुक हो । उसले दैनिक ७० लाख ब्यारलभन्दा बढी तेल निर्यात गर्दछ । साउदी अरबले पूर्ववत रुपमा तेल उत्पादन गर्न र निर्यात गर्न हप्तौं लाग्नसक्ने अनुमान विश्लेषकहरुले गरेका छन् ।


अमेरिका आरोप प्रत्यारोपमा नै व्यस्त

अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले ती आक्रमणमा इरान संलग्न भएको आरोप लगाएका छन्। उनले ड्रोन आक्रमण यमनबाट भएको भन्ने कुनै प्रमाण नभेटिएको दाबी गर्दै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले ट्वीट गरेका थिए ।

इरानले भने अमेरिकी आरोपको खण्डन गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसवीले अमेरिकाले लगाएको आरोप असत्य र अर्थहीन भएको बताएका छन् । इस्लामिक मुलुक इरानविरुद्ध आक्रमण गर्न अमेरिकाले पृष्ठभूमि तयार पार्न खोजेको इरानको आशंका छ ।

यता, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्विटरमार्फत् अमेरिकाले दोषी चिनेको टिप्पणी गरेका छन्।अमेरिका कारबाहीका लागि तयार रहेको आशय व्यक्त गर्दै उनले साउदी अरब कसरी अघि बढ्न चाहन्छ त्यो जान्न आफूले प्रतीक्षा गरिरहेको बताए।

प्रकाशित मिति: : 2019-09-16 10:54:05

प्रतिकृया दिनुहोस्