भारतका चर्चित उद्योगपति लक्ष्मी मित्तलका कान्छो भाई प्रमोद मित्तल आर्थिक अपचलनको मुद्धामा बोस्नियामा पक्राउ परेका छन्। उनीमाथि १९ दशमलव ३२ करोड रुपैयाँ छलीको आरोप छ।
उनलाई बुधबार नै अदालतमा उपस्थित गराइएको छ। प्रमोदमाथि बोस्नियाको लुकावासस्थित उत्तरपूर्वी गाउँमा कोकिङ प्लान्ट जिआईकेआईउलसँग सम्बन्धित मुद्धामा आर्थिक चलखेल गरेको आरोप लागेको थियो।
एक हजार कर्मचारी रहेको कोकिङ प्लान्टको सञ्चालन सन् २००३ देखि प्रमोदले गर्दै आइरहेका छन्। उनी जिआईकेआईएलको सुपरभाइजरी बोर्डका अध्यक्ष पनि हुन्। उनमाथि पावरको गलत प्रयोग गरेको आरोप पनि लागेको छ।
प्रमोदसँगै कम्पनीका कार्यकारी अधिकृत परमेश भट्टाचार्य र सुपरभाइजरी बोर्डका अन्य एक सदस्य पनि पक्राउ परेका छन्।
बोस्नियाका सरकारी वकिल केजिम सेरहेटलिकले उनीविरूद्धको आरोप प्रमाणित भए ४५ वर्षको जेल सजाय हुने बताइएको छ।
यसै वर्षको मार्चमा १६ सय करोड रुपैयाँ चुत्ता गरेर लक्ष्मी मित्तलले आफ्नो भाई प्रमोदलाई भारतमा जेल जानबाट जोगाएका थिए। उनीविरूद्ध वित्तिय अपराधको मुद्धा थियो। प्रमोदमाथि स्टेट ट्रेडिङ कर्पोरेशनको २ हजार २ सय १० करोड रुपैयाँ नतिरेको मुद्धा थियो।