हेलिकप्टरबाट बैंकको सामग्री ढुवानी

तस्बिरः एजेन्सी

काठमाडौं । यातायातको पहुँच नभएको उपल्लो डोल्पामा हेलिकप्टरमार्फत बैंकको सामग्री ढुवानी गरिएको छ। सामग्री मूल्यभन्दा ढुवानीको मूल्य बढी परेको प्रभु बैंकले बताएको छ।

शे फोक्सुण्डो गाउँपालिकाको प्रशासकीय केन्द्र सालताङ प्रभु बैंकको शाखा विस्तार गर्न हेलिकोप्टर प्रयोग गरिएको हो। सामान सुर्खेतबाट जुफाल विमानस्थल र जुफालबाट सालताङ पुर्‍याइएको हो।

सहज रुपमा यातायातका साधनमा ढुवानी गर्ने काम नभएपछि हेलिकोप्टर प्रयोग गरिएको हो।  कर्णाली प्रदेश सरकारले डोल्पा मुड्केचुला गाउँपालिका–१ काशिलखोलामा राहत वितरण गर्नसमेत हेलिकोप्टरको प्रयोग भएको थियो।

त्यस्तै डोल्पामा अहिलेसम्म पाँच वटा सुत्केरी हेलिकोप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको छ। डोल्पाका अधिकांश काम लाखौँ खर्च गरेर हवाई मार्गमार्फत काम हुने गरेको छ।

उपल्लो डोल्पामा गरिने अधिकांश विकास निर्माणका कामदेखि अनुगमनमा समेत हेलिकोप्टरको प्रयोग हुने गरेका छन्। विकास निर्माणमा प्रयोग हुने सामग्रीसमेत हेलिकोप्टरमार्फत नै ढुवानी हुँदै आएको छ। वर्षेनी करोडौं रकम हेलिकोप्टर, जहाजमार्फत ढुवानीमा खर्च हुने गरेको छ। रासस

प्रकाशित मिति: : 2019-07-20 09:21:15

प्रतिकृया दिनुहोस्