सलमानको बुवाका कारण शाहरुखलाई चिट्ठा परेको थियो मुम्बईको घर

तस्बिरः एजेन्सी

बलिउड सुपरस्टार सलमान खानले एउटा रोचक खुलासा गर्दै भनेका छन्, शाहरुख खान अहिले मुम्बईको जुन बंगलामा बस्छन्, कुनै बेला उनले त्यो घर किन्न खोजेका थिए। 

तर, बुवा सलिम खानको कारण आफूले त्यो बंगला नकिनेको उनले खुलासा गरे। रिलिज नजिकै रहेको आफ्नो फिल्म ‘भारत’ को प्रमोशनमा रहेका सलमानले भने, ‘समुन्द्रतर्फ मोहडा भएको जुन बंगलाको मालिक शाहरुख खान छन्, त्यसलाई पहिले मैले किन्न चाहेको थिए।’

बुवा सलिमले त्यति ठूलो घरमा बसेर के गर्छस्? भनेपछि आफूले त्यो घर किन्ने इच्छा त्यागेको उनले बताए।

शाहरुख खानको बंगलाको नाम मन्नत हो। यो घर बलिउडमा निकै फेमस पनि छ। ५३ वर्षका सलमानले प्रमोशनको बेला भने, ‘म शाहरुखलाई भेटेर सोध्ने छु, यति ठूलो घरमा बसेर गर्छो के?’

केही समयअगाडि एउटा टेलिभिजन कार्यक्रममा शाहरुखले ‘मन्नत’ किन्नु पछाडिको रहस्य खोलेका थिए।

‘म दिल्ली निवासी हूँ र दिल्लीवासीको कोठी (बंगला)मा बस्ने बानी हुन्छ। मुम्बईमा मानिसहरू अपार्टमेन्टमा बसोबास गर्छन्।’ शाहरुखले अन्तर्वार्ताको क्रममा आर्थिक हैसियत कमजोर भएका दिल्लीवासीको पनि घर अवश्य हुने बताएका थिए।

शाहरुखले आफ्नो सासुका कारण पनि घर किनेको उजागर गरेका थिए। ‘जतिबेला म मुम्बईमा विवाह गरेर आएको थिए। सानो अपार्टमेन्टमा बस्ने गर्थे। त्यतिबेला मेरो सासु तिमीहरू निकै सानो घरमा बस्छौं भन्नुहुन्थ्यो,’ शाहरुखले अन्तर्वार्तामा भनेका थिए।

उनले ‘मन्नत’ हेरेपछि आफूलाई दिल्लीजस्तो कोठी लागेको बताए। ‘त्यसैले मैले खरिद गरे,’ उनले भनेका थिए।

प्रकाशित मिति: : 2019-05-27 19:03:54

प्रतिकृया दिनुहोस्