अजय देवगनका बुवा विरुको निधन

तस्बिरः एजेन्सी

द्धन्द्ध निर्देशक तथा अभिनेता अजय देवगनका बुवा विरु देवगतको निधन भएको छ।

उनी लामो समयदेखि बिरामी थिए। उनको सोमबार दिउँसो मुम्बईमा निधन भएको परिवारले पुष्टी गरेको छ। उनको पार्थिव शरीर आजै साँझ ६ बजे सदगद गर्ने कार्यक्रम रहेको छ।

विरु बलिउडका चर्चित द्धन्द्ध निर्देशक हुन्। उनले ८० भन्दा बढी फिल्ममा द्धन्द्ध निर्देशन गरेका थिए। उनले ‘हिन्दुस्तान कि कसम’ नामक फिल्म बनाउन पनि भ्याएका थिए।

सन् १९५७ मा १४ वर्षको उमेरमै विरुले बलिउडमा काम गर्न भ्याइसकेका थिए। उनको जवानी निकै अभावमा वित्यो।

आफ्नो पुरानो घर अमृतसरबाट भागेर मुम्बई हिडेका विरुलाई रेलको टिकट नकाटेको आरोपमा एक साता जेलको हावा खानु परेको थियो।
उनले मुम्बईमा ट्याक्सी धुनेदेखि काठको कामसमेत गरे।

सानैदेखि हिरो बन्ने सपना पालेका विरुले यसका लागि लामो समय फिल्म स्टुडियोको चक्कर पनि काटेका थिए।

विरु हिरो त बन्न सकेनन् तर उनले आफ्नो छोरा अजय देवगनलाई हिरो बनाउन धेरै मिहिनत गरेका थिए।

उनले सानैदेखि अजयलाई फिल्म निमार्ण र द्धन्द्ध अभिनयसँग जोडेका थिए।

उनले अजयलाई डान्स क्लास, जिम हल, घोड सवारी सबै सिकाएका थिए।

विरुले इन्कार (१९७७), मिस्टर नटवरलाल (१९७९), क्रान्ति (१९८१), हिम्मतवाला (१९८३), शहनशाह (१९८८), त्रिदेव (१९८९), बाप नम्बरी बेटा दश नम्बरी (१९९०), फुल और काटे (१९९१) जस्ता फिल्ममा द्धन्द्ध निर्देशन गरेका थिए।

प्रकाशित मिति: : 2019-05-27 17:02:36

प्रतिकृया दिनुहोस्