पोखरामा नाटक तिर्खा मञ्चन जारी छ। पोखरा थिएटरको सातौं प्रस्तुतिको नाटक जेठ २५ गतेसम्म निरन्तर पोखरा थिएटरको गन्र्धव नाटकघरमा मञ्चन हुनेछ। यो नाटक जेठ ९ गते बिहिबारबाट मञ्चन सुरु भएका थियो।
नाटक ‘तिर्खा’ सन् १९२४ मा न्यू ईंगल्याण्डको ग्रामिण परिवेशलाई लिएर लेखिएको दुःखान्त नाटक हो। मातृत्वको अभावले सृजना गर्ने मनोवैज्ञानिक असर, हरेक पात्रहरुको चाहना, त्यो प्राप्तिका लागि गरिने आशक्ति र त्यसले व्यक्ति र समाजमा पार्ने प्रभावलाई नाटकमा देखाउने प्रयास गरिएको छ।
झण्डै एक शताब्दी अघि लेखिएपनि यो वर्तमान अवस्थामा पनि उत्तिकै सान्दर्भिक रहेको यस नाटकका निर्देशक चे शंकरले जनाए। यो नाटकको परिकल्पना समेत चे शंकरले गरेका छन् ।
नाटकमा शरद भण्डारी, रमेशबाबु तिमल्सिना, निश्चल विमल, सीमा गुरुङ, नवराज गिरी, ईश्वर कार्की, विष्णु तिमिल्सिना, सोनिया खत्री, प्रतिभा अधिकारी र दिवानी तामाङको अभिनय हेर्न पाइनेछ।
नाटक अमेरिकि नाटककार युजिन ओनिलले लेखेका हुन्। उनले लङ डेज जर्नी इन टु नाइट, वियोन्ड द युनिभर्स, अ विल्डरनेस, आना क्रिष्टी आदि नाटक लेखेका छन्।
नाटक ‘तिर्खा’ १६ वर्ष भन्दा माथिको उमेरलाई मात्र देखाइने थिएटरले जनाइएको छ। नाटकको विषयवस्तु र प्रस्तुतिले १६ वर्ष मुनिका बालबालिकामा नकारात्मक असर पर्छ कि भनेर उनीहरुलाई नाटक हेर्न प्रतिबन्ध लगाइएको निर्देशक चे शंकरले जनाए।
हरेक दिन साँझ ५ बजे र शनिबार अतिरिक्त सो को रुपमा दिउँसो १ बजे समेत नाटक मञ्चन हुने थिएटर अध्यक्ष परिवर्तनले जनाए। एक महिनाको रिर्हसल पश्चात खारिएका कलाकारको अभिनयले दर्शकको मन जित्ने उनको विश्वास छ।