मदनकृष्णलाई बसुन्धराश्री, हरिवंशलाई मानश्री

पुरस्कारको गरिमा त्यतिबेला हुन्छ, जतिबेला त्यो योग्य पात्रको हातमा हुन्छ, अन्यथा त्यो पैसाको थैली मात्र हुन्छ। 
मेडलको इज्जत त्यतिबेला हुन्छ, जतिबेला त्यो पहाडजस्तो चट्टानी छात्तिमाथि टल्किरहेको हुन्छ, अन्यथा त्यो कवाडी हुन्छ। 

नेपालमा पनि पुरस्कार र सम्मानका नाममा थुप्रै पैसाका थैली र कवाडी स्थापना भएका छन्। आलोपालो साटिन्छन्। कहिले क ले ख लाई दिन्छ, अनि कहिले ख ले  क लाई । तर, तिनीहरूको न इतिहास हुन्छ, न वर्तमान, भविष्य त धेरै टाढाको कुरा हो। 

तर, नेपालमा वसुन्धरा—मान प्रज्ञाप्रतिष्ठानले स्थापना गरेका दुई पुरस्कार वसुन्धराश्री र मानश्री पुरस्कार भने ती भीडबाट भिन्न छन्। यसपटक मह जोडीमा म अर्थात् मदनकृष्ण श्रेष्ठलाई वसुन्धराश्री पुरस्कार प्रदान गरिएको छ भने ह अर्थात् हरिवंश आचार्यलाई मानश्री पुरस्कार प्रदान गरिएको छ। दुबै पुरस्कारमा सम्मानपत्रका साथ ५० हजार राशीसमेत रहेको छ।

पुरस्कार दिने निर्णय वसुन्धरा—मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले गर्यो।जानकारी सम्प्रेषण प्रतिष्ठानका सदस्य सचिव कृशु क्षेत्रीले दिए। 

दुबै नेपालको राष्ट्रिय कविता प्रतियोगितामा स्वर्णपदक फेमका स्थापित कवि हुन्। दाजु दुबसु बेलायतका लागि नेपाली दूताबासमा राजदूत छन् भने भाइ कृसु अमेरिकाको न्युयोर्कस्थित महावाणिज्यदूतमा वाणिज्यदूत छन्। 

वसुन्धरा—मान प्रज्ञाप्रतिष्ठान आफ्ना श्रद्धेय मातापिताका नाममा स्थापित प्रतिष्ठान हो। यो स्थापना गरेर उनीहरूले आफ्ना माता-पिताप्रति कृतज्ञता त प्रकट गरेकै छन्। हरेक वर्ष सही पात्रलाई पुरस्कार प्रदान गरेर उनीहरूको योगदानको सम्मान पनि गरेका छन्। 

 

 

 

 

प्रकाशित मिति: : 2019-04-21 09:39:08

प्रतिकृया दिनुहोस्