तेक्वान्दोमा कसको स्वर्ण जित्ने सम्भावना?

बिएल

तेक्वान्दो नेपाली खेलकुदको सबैभन्दा सफल खेल हो। यसले राष्ट्रिय रूपमा मात्र नभई अन्तर्राष्ट्रिय हिसाबले पनि नेपाललाई धेरै ठाउँमा सफलता दिलाएको छ। नेपालमा डिसेम्बर १ देखि सुरु हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोको सफलताले अंक तालिकामा नेपालको स्थिति के हुने? यसको टुँगो लाग्ने छ।

नेपाली खेल पदाधिकारीले १३ औं सागमा देशले ५० स्वर्ण जित्ने दावी गरिरहेका छन्। यसमा उनीहरूको आँखा तेक्वान्दो र करातेमा गएर टिकेको छ। तेक्वान्दोको कुरा गर्दा साग गेम्सको इतिहासमा सबैभन्दा सफल खेल हो।

सन् १९९९ नेपालमा आयोजना भएको आठौं सागदेखि तेक्वान्दोलाई यो प्रतियोगितामा समावेश गरिएको हो। नेपालले साग गेम्सको पछिल्लो चार शृंखलामा २५ वटा स्वर्ण जितिसकेको छ।

यसअघि भारतमा भएको १२ औं सागमा नेपालका ७ खेलाडीले रजत जित्दा पनि एउटा स्वर्ण जितेका थिएनन्। यस पालि आफ्नै देशमा आयोजना हुन लागेको प्रतियोगिताले गर्दा खेलाडी उत्साही छन्।

अहिले तेक्वान्दो पदाधिकारीहरूको ध्यान आठौं सागमा नेपालले जितेको १५ स्वर्णको इतिहासलाई पछि छोड्ने रहेको छ। पुम्सेतर्फको स्पर्धा पहिलो पल्ट थपिएका कारण पदाधिकारी पनि केही उत्साही छन्।

यस पल्ट २९ स्वर्णका लागि तेक्वान्दोको प्रतिस्पर्धा हुदैछ। जसमा पुम्सेतर्फ १३ स्वर्ण र फाइटतर्फ १६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।

नेपालले पुम्सेमा ५ स्वर्ण र फाइटतर्फ ७ खेलाडीले स्वर्ण जित्ने आशा राखेको छ। पुम्सेमा १८ देखि २३ वर्षमुनी सिना मादेन, २४ देखि २९ वर्षमुनी पार्वती गुरुङ र कमल श्रेष्ठ, पुरुष समूहगत पुम्सेमा कमल श्रेष्ठ, जितबहादुर बोटे र प्रेम लिम्बुको जोडी तथा महिला–पुरुष समूहगत पुम्सेमा सिना मादेन र अश्विन राउतको जोडीले स्वर्ण जित्ने आशा गरिएको छ।

फाइटतर्फ पुरुष ५४ केजीमुनी मनोज मल्ल, ५८ केजीमुनी गोविन्द आले, ६३ केजीमुनी ज्ञानेन्द्र हमाल, ८७ केजीमुनी भूपेन श्रेष्ठ, ६८ केजीमुनी विर महराले स्वर्ण जित्ने आशा गरिएको छ भने महिलातर्फ ४६ केजीमुनी काजल श्रेष्ठ र ४९ केजीमुनी युनिसा राईको सम्भावना बलियो छ।

प्रकाशित मिति: : 2019-11-30 11:32:02

प्रतिकृया दिनुहोस्