क्यानको निलम्बन सशर्त फुकुवा गर्ने आईसीसीको निर्णय

Photo Credit : ICC

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट सं‌घ क्यानको निलम्बन सशर्त फुकुवा गरेको छ ।

सोमबार बसेको आईसीसी बोर्ड बैठकले नेपाल र जिम्बाब्वेको निलम्बन फुकुवाको निर्णय गरेको हो।

आइसिसीकै प्रत्यक्ष संलग्नतामा असोज १० र ११ गते काठमाडौंमा क्यानको निर्वाचन भए पछि निलम्बन फुकुवाका लागि सबैभन्दा बलियो आधार बनेको थियो । सो निर्वाचनले चतुरबहादुर चन्दको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको थियो ।

सरकारी हस्तक्षेप र निष्पक्ष निर्वाचनलगायतका विभन्न विषय देखाउँदै आइसिसिले २०७३ वैशाखमा क्यानमाथि निलम्बन गरेको थियो।

आईसीसीका अध्यक्ष शशांक मनोहरले भने, ‘नेपालमा भएको प्रगतिलाई मध्यनजर गर्दै अब एसोसिएट सदस्यताको सबै मापदण्डहरु पालना गर्न नेपाल क्रिकेट संघको संक्रमणकालीन योजना बनाइनेछ, जसमा नियन्त्रित फण्डिङ पनि हुनेछ।’

आईसीसीले जिम्बाब्वेको पनि निलम्बन हटाएको छ। अब उसले यू–१९ विश्वकप र २०२० पछि सुरु हुने आईसीसी सुपर लिगमा पनि भाग लिन पाउनेछ। निलम्बनका कारण उसले टी–२० विश्वकपको छनोट खेल्ने अवसर भने गुमाएको छ।

आईसीसी बोर्ड बैठकले एसिसिएट सदस्यहरुका लागि २०२० मा ३०.५ मिलियन फण्ड छुट्याएको छ। यो २०१९ को भन्दा करिव १२ प्रतिशत बढी हो।

प्रकाशित मिति: : 2019-10-14 20:48:30

प्रतिकृया दिनुहोस्