भारतको राष्ट्रियस्तरका ४ हकी खेलाडीको दुर्घटनामा निधन, ३ को अवस्था चिन्ताजनक

Agency

भारतको मध्यप्रदेशको होशंगाबादमा सोमबार बिहान सडक दुर्घटनामा ४ राष्ट्रियस्तरका खेलाडीको निधन भएको छ। यस्तै, तीनको अवस्था चिन्ताजनक रहेको अखबारहरूले जनाएका छन्।

खेलाडीहरू होशंगाबादमा आयोजना हुन लागेको राष्ट्रियस्तरको एक प्रतियोगितामा भाग लिन जाँदै थिए।

दुर्घटना इटारसी र होशंगाबादको बीच राष्ट्रिय हाइवेमा भएको थियो। गाडी रुखमा गएर ठोकिएको सुरक्षाकर्मीले जनाएका छन्।

खेलाडीहरू ध्यानचन्द एकाडेमीले आयोजना गरिरहेको राष्ट्रिय हकी प्रतियोगिताको सेमिफाइनल खेल्न गइरहेका थिए। टिममा सहभागी एक खेलाडी आदर्श हरदुआको जन्मदिन मनाउन अनुमति लिएर आइतबार राती इटारसी पुगेका थिए। फर्किने क्रममा बिहान रैसलपुरमा दुर्घटना भएको थियो।

दुर्घटनामा जुन खेलाडीको जन्मदिन थियो, उनको पनि निधन भएको बताइएको छ। आयोजक निरजका अनुसार बिहान ६ बजेर ४५ मिनेटमा दुर्घटना भएको थियो। घाइतेलाई निजी अस्पतालमा भर्ना गरिएको छ।

 

प्रकाशित मिति: : 2019-10-14 13:10:30

प्रतिकृया दिनुहोस्