इरानी फुटबलका लागि ऐतिहासिक दिन, पहिलाे पल्ट महिला दर्शक र‌ंगशालामा प्रवेश गर्दै

Agency

एउटा भनाई छ– खेलले न धर्म हेर्छ, न जाती। महिला–पुरुषबीचको भिन्नतालाई पनि उसले स्विकार गर्दैन। यसैको पछिल्लो उदाहरण बनेकी छिन्, इरानकी एक युवती सहर खोडयारी। केही समयअघि उनी इस्लामको नाममा इरानमा खेलमाथि हुने गरेको विभेदको अन्त्य गर्न चाहन्थिन्। जीवित हुँदा उनको यो सपना त पुरा भएन। तर, मरेपछि इरानको सत्तालाई नै उनी हल्लाउन सफल भइन्।

फुटबलको पागल मानिने यी युवतीको निधनले विश्वभरी इरानको बदनामी भयो। जसका कारण इरानले आफ्नो इस्लामी कानुनलाई परिवर्तन गर्नुपर्यो।
यसको ऐतिहासिक झल्को भोली अर्थात बिहीबार (अक्टुबर १०) मा इरानमा देखा पर्देछ।

२९ वर्षीय खोडयारीले यसकारण मृत्यु वरण गर्नु पर्यो, जब उनी राजधानी तेहरानको आजादी रंगशालामा आफूले मन पराएको टिमको फुटबल हेर्न गएकी थिइन।
इरानको इस्लामिक कानुनमा महिलालाई रंगशालामा पुगेर फुटबल हेर्न वर्जित गरिएको छ। यदी महिलाले इस्लामिक कानुनको अवज्ञा गरे उनीहरूलाई मृत्यु दण्ड दिने समेत प्रावधान छ।

कुनै बेला कम्प्युटर साइन्समा स्नातक गरेकी खोडयारीलाई इरानी कानुनको विषयमा जानकार नभएको पक्कै होइन। तरपनि उनी आफूले मन पराएको फुटबल टिमलाई रंगशाला पुगेर आफ्नै आँखाले खेलेको हेर्न चाहन्थिन्।

मार्च २०१९ मा उनको मनपर्ने क्लब एस्टेगललको आजादी रंगशालामा खेल हुँदै थियो। आफ्नो प्रिय टिमको खेल हेर्न उनले पुरुषको पहिरन लगाएकी थिइन्। उनले आफ्नो पहिचान लुकाउन निलो रंगको विग र माथिबाट लामो ओभरकोट पहिरिएकी थिइन।

तर, सोशल मिडिया उनको मृत्युको कारण बन्यो। उनी सुरक्षा निकायलाई छक्याएर रंगशालाभित्र प्रवेश गर्न त सफल भइन्। तर, रंगशालाभित्र खेलले उन्माद उनले कपालबाट आफ्नो निलो रंगको विग हटाउन पुगिन्। पुरुषको लुगामा रंगशालाभित्र खेल हेरिरहेको उनको तस्वीर केही मिनेटभित्रै सोशल मिडियाबाट भाइरल भयो। यसको जानकारी पाएका सुरक्षाकर्मी केही सेकेन्डमै उनलाई धडपकड गर्न रंगशालाभित्र उपस्थित भए।

उनको मुद्धा अदालतसम्म पुग्यो। अदालतले पक्राउ पूर्जी जारी गर्दै उनलाई अदालतमा उपस्थित गराउन आदेश दिएपछि खोडियारीले अदालत हाताभित्रै आत्मदाह गरिन्। उनलाई गम्भीर अवस्थामै तेहरानस्थित अस्पतालमा भर्ना गरियो। उनको शरीरमा ९० प्रतिशत बढी आगो लागेको थियो। अस्पतालमा उनले दुई सातापछि प्राण त्याग गरिन्।

खोडियारी चाहन्थिन्, आफू जस्तै लाखौं इरानी महिलाले आफ्नो मनपर्ने फुटबल टिमको खेल रंगशाला भित्र पुगेर हेरुन्। तर, जीवित रहँदा उनको यो सपना पुरा भएन। घटनापछि इरान सरकारले आफ्नो इस्लामी कानुनमा परिवर्तन गर्नुपर्यो।

खोडियारीको निधनपछि सोशल मिडियामार्फत विश्वमार्फत इरानको बदनामी भयो। केही दशकअघि देखि चुपचाप बसिरहेका इरानी महिलाले पनि भेदभावपूर्ण यो कानुनविरुद्ध आन्दोलन छेडे। विश्वभरीको फुटबल क्लब र स्टारहरुले इरानको भेदभावपूर्ण कानुनको विरोध गरे र खोडियारीको निधनप्रति गहिरो संवेदना व्यक्त गरे।
फिफाले पनि इरानको कानुनप्रति आपत्ति जनायो। चारैतिरबाट दबाब सिर्जना भएपछि इरानले महिलालाई रंगशालामा प्रवेश गर्न नदिने कट्टर कानुनमा परिवर्तन गर्नुपर्यो।

भोली तेहरानको आजादी रंगशालामा ३५सय महिला एकैपल्ट रंगशाला प्रवेश गर्दैछन्। इरान र कम्बोडियाबीच हुने फुटबल खेलमा महिलाका लागि ३५ सय टिकट आंरक्षण गरिएको छ। सरकारी घोषणाको एक घण्टा नबित्दै सबै टिकट बिक्री भएको थियो।

फुटबलको पागलपनका कारण प्राणसमेत दिन किञ्चित समय खेर नफ्याकेकी यी युवती अहिले विश्वभरी ‘ब्लु गर्ल’ को उपमाले चर्चित छिन्। उनको लोकप्रिय टिम एस्टेगलको जर्सीको रंग पनि ‘ब्लु’ नै छ। त्यसैले यति बेला उनको समर्थनमा इरानको स्टेडियम भित्र र बाहिर ‘ब्लु रंग’ को पोषाक र ‘ब्लु विग’ मा उनको तस्वीर टाँसिएको छ।

प्रकाशित मिति: : 2019-10-10 00:48:09

प्रतिकृया दिनुहोस्