ओमानमा जारी पेन्टागुलर टी–२० शृंखलामा नेपालले पहिलो हार स्विकार गरेको छ। आयरल्याण्डविरूद्ध बुधबार भएको खेलमा मध्यक्रमका ब्याट्सम्यान जम्न नसक्दा नेपालले १३ रनले पराजय स्विकार गर्नुपर्याे।
अघिल्लाे दुई खेलकाे जीतसँगै आफूभन्दा बलियाे युराेपकाे टिमविरुद्ध उच्च मनाेबलका साथ नेपाली टाेली मैदानमा उत्रिएकाे थियाे। नेपाललाई टस हार्नु पनि अर्काे दुर्भाग्याे भयाे। नेपालविरूद्ध यस खेलमा आयरल्याण्डले बिस्फोटक सुरुवात गर्याे।
प्रारम्भिक ब्याट्सम्यान पल स्टर्लिङले ४७ बलमा ५७, एन्डी बालबिर्नीले २८ बलमा ३८ तथा स्टुवर्ट थम्सनले ११ बलमा २१ रनको बिस्फोटक इनिङ खेलेपछि आयरल्याण्डले ८ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो।
दाेस्राे विकेटका लागि पल र एन्डीबीच १० ओभरभित्र ८८ रनकाे साझेदारी बनेकाे थियाे। आयरल्याण्डकाे जितकाे स्तम्भ पनि यहीबाट खडा भयाे।
नेपालका लागि कप्तान पारस खड्का र इशान पाण्डेको प्रारम्भिक जोडीले करिब ९ को औसतले ४ ओभरमा ३५ रन बनाउँदै उत्कृष्ट सुरुवात नदिलाएका हाेइनन्। तर कप्तान पारस २५ रनमा आउट हुनु र इशानले दोस्रो विकेटका लागि आरिफ शेखसँग मिलेर पुनः ३८ रनको साझेदारी गरे पनि छिटाे आउट हुनु दुर्भाग्य बन्याे। नेपालले १० ओभरमा ७३ रन बनाइसकेको थियो। तर, इशान २२ रनमा आउट भए। उनी आउट भएपछि अन्य ब्याट्सम्यानले लामो साझेदारी गर्न सकेनन्। आरिफले २६ रन बनाए।
अघिल्लो दुई खेलमा खराब खेलेका उपकप्तान दीपेन्द्रसिंह ऐरीले १९ रन बनाए। अघिल्लो दुई खेलमा नेपाललाई जिताएका करन केसीले पुछारमा ९ बलमा १६ रन बनाएपनि त्यो पर्याप्त भएन। नेपाल १९ दशमलव ५ ओभरमा १ सय ३२ रन बनाएर समेटिएको थियो।
विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी १ रनमा रनआउट हुनुपनि नेपालका लागि दुर्भाग्य बन्यो। नेपालले यसअघि नेदरल्याण्ड र हङकङलाई पराजित गरेकाे थियाे।
टस हारेर पहिलो बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले २, अविनाश बोहराले २, करन केसी र ललित राजवंशीले १–१ विकेट लिए। आयरल्यान्डका लागि मार्क आदेर र जर्ज डकरेलले ३–३ विकेट लिएका थिए।