ब्राजिलसँग हारेको दिन मेसीको मन्तब्य सुनेर सबै रोएका थियौंः डि मारिया

Agency

अर्जेन्टिनी टिमका सदस्य एञ्जल डि मारियाले कोपा अमेरिका कपअन्तर्गत ब्राजिलसँग पराजय भोगेको खेलपछि टोलीका स्टार स्ट्राइकर लिओनल मेसी निकै भावुक बनेको रहोस्दघाटन गरेका छन्।

गत जुलाईमा बेलो होरिजोन्टेमा भएको सेमिफाइनल खेलमा अर्जेन्टिना २–० गोलले पराजित भएको थियो।

मेसीको नेतृत्वमा उत्रिएको राष्ट्रिय टोलीले चिलीलाई तेस्रो स्थानका लागि भएको खेलमा पराजित गरेको थियो।

उपाधि नजिक भएर पनि बिमुख हुनु परेको अवस्थामा सबै स्तब्ध भएको भन्दै डि मारियाले मेसीको मन्तब्यबाट आफू निकै प्रभावित भएको बताए।

‘उनले (मेसी) ब्राजिलसँग पराजय भोगेपछि केही मिठो शब्द भनेका थिए,’ डि मारियाले इएसपीएन अर्जेन्टिनासँग भने, ‘मेसीले टिमप्रति आफू गौरवान्वित भएको बताएका थिए।’ मेसीको भनाई उध्रित गर्दै उनले भने–हामी (सिनियर खेलाडी) ले एकअर्काबीच लामो समयदेखि खेलेका थिएनौं। तर, खेललाई माथि उठाउन सबैले यसरी योगदान गरे, मलाई लाग्यो हामी लामो समयदेखि सँगै खेलिरहेका छौं।’

मेसीले पहिलो दिनदेखि नै सबै खेलाडी एउटै लक्ष्यमा होमिएको विश्लेषण गर्दै भनेका थिए, ‘अर्जेन्टिनाको जर्सीका लागि युवा खेलाडीले देखाएको समर्पणप्रति म निकै गर्वान्वित भएको छु। उनीहरुले कोपा अमेरिकामा आफूले गर्न सक्ने सबै गरे।’

‘मेसीले आफ्नो मन्तब्य राखिरहँदा सबैको आँखामा आँशु थियो किनभने यसले सबैको मन छुएको थियो। विशेषतः युवा खेलाडीको’, मारियाले भने। मेसीले बार्सिलोना क्लबका लागि जुन उपलब्धी हासिल गरेका छन्, त्यो अर्जेन्टिनाका लागि दोहर्याउन सकिरहेका छैनन्। त्यसैले उनको बेलाबेलामा आलोचना भइरहन्छ।

तर, पेरिस सेन्ट जर्मेनका स्ट्राइकर मारियाले यस वर्ष मेसीको अर्को पक्ष पनि देखेको बताए। ‘उनीविरुद्ध अनगिन्ती आलोचना हुन्छ। जसमा उनले राष्ट्रिय गीत गाउन सक्दैनन् भन्ने गफ पनि चल्छ,’ मारियाले भने, ‘तर, यसपालिको कोपा अमेरिका भिन्न रहयो। उनले प्रमाणित गरे। मलाई यो देखेर खुसी लाग्यो, कसरी उनी समूहको अगाडि उभिएर खेलाडीलाई प्रोत्साहित गर्छन। पत्रकारको अगाडि कसरी प्रस्तुत हुन्छन्। मलाई मेसीको यो रुप मन पर्यो।’

प्रकाशित मिति: : 2019-10-05 09:41:36

प्रतिकृया दिनुहोस्