आयरल्याण्डसँग स्कटल्याण्ड स्तब्ध

तस्बिरः एजेन्सी

आयरल्याण्डमा जारी त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा घरेलु टोली आयरल्याण्डले स्कटल्याण्डलाई ४ विकेटले हराएको छ। डब्लिनमा स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्दै दिएको १९४ रनको लक्ष्य आयरल्याण्डले ६ विकेट गुमाएर १७.४ ओभरमै पुरा गर्‍यो।

आयरल्याण्डलाई जिताउन एन्ड्रु बालबर्नीले ३२ बलमा ८ चौका र ३ छक्का मदतले ६४ रन तथा गारेथ डेलानेले २८ बलमा ८ चौका र १ छक्का मदतले ५२ रन बनाए।

ओपनर डेलानेले पहिलो विकेटको लागि केभिन ओ ब्रायनसँग ५७ तथा दोस्रो विकेटको लागि बालबर्नीसँग ४२ रनको साझेदारी गरेका थिए। तेस्रो विकेटको लागि बालबर्नीले ह्यारी टक्टरसँग ६७ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए।

स्कटल्याण्डका मार्क वाटले सर्वाधिक ३ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९३ रन बनाएको थियो।

उसको लागि कलम म्याकलोयडले सर्वाधिक ७२ रन बनाए। ४२ बलमा उनले ८ चौका र २ छक्का प्रहार गरे। अघिल्लो खेलमा शतक बनाएका जर्ज मुनसेले ३४ रन बनाए।

आयरल्याण्डका बोयड र्यांकीनले ३ तथा गारेथ डेलानेले २ विकेट लिए।

आयरल्याण्ड, स्कटल्याण्ड र नेदरल्याण्डबीच जारी सिरिज अन्तर्गत सोमबार राति सम्पन्न दोस्रो खेलमा स्कटल्याण्डले नेदरल्याण्डलाई ५८ रनले पराजित गरेको थियो। आयरल्याण्ड र नेदरल्याण्ड बीचको पहिलो खेल भने वर्षाले रद्द भएको थियो।

सिरिज अन्तर्गत चौथो खेल बुधबार आयरल्याण्ड र नेदरल्याण्ड बीच खेलिनेछ।

प्रकाशित मिति: : 2019-09-18 07:24:47

प्रतिकृया दिनुहोस्