अन्तर्राष्ट्रियस्तरको 'जुम्ला-रारा अल्ट्रा म्याराथन' को तयारी पुरा

तस्बिरः बिएल

५३ वर्षका जगदीश यादव भारतको गुडगाउँ हरियाणाबाट तीन दिनअघि 'जुम्ला रारा अल्ट्रा म्याराथन' मा सहभागी हुन जुम्ला आइपुगे।  नेपाली नबुझ्ने उनले हिन्दीमा भने, 'ए जो ४९ किलोमिटरका रेस है, हाम पुरा कर्लेंगे । कही बार हामने रेस किया है । यस बार भी करके रहेंगे।'

यादवसँगै जुम्ला पुगेका राजस्थानका कुलदीपसिंह चौधरी जवान छन् । राजस्थान अन्तर्राष्ट्रिय स्तरको म्याराथनमा सहभागी हुँदै आएका उनी पहिलो पटक जुम्ला पुगेका छन्। भन्छन्,'हाई अल्टिच्यूडमा दौडिनु कष्टदायी काम हो। तर यसैमा आनन्द छ।'

यादव र चौधरी जस्तै अमेरिका र बेलायतबाट जिमी अस्टिम, स्टेनीलगायत तीन जना खेलाडी बिहिबार काठमाडौं पुगेर जुम्लाका लागि हिँडिसकेका छन्।

भोजपुर, बुटवल, पोखरा, गोरखा, काठमाडौं, भक्तपुर, पूर्वी रूकुमलगायतका जिल्ला र त्रिभुवन आर्मी क्लबका खेलाडी जुम्ला पुगेको आयोजक कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए।

भदौं २९ गते हुने प्रतियोगिताको अन्तिम तयारी भैसकेको छ।

महिला र पुरूष दुई समूहमा एक किलोमिटर, पाँच किलोमिटर र ४९ किलोमिटर गरि तीनवटा विधामा प्रतियोगिता सम्पन्न हुने अन्तर्राष्ट्रिय धावक हरी बहादुर रोकायाले जानकारी दिए। ‘प्रतियोगिताको रजिस्ट्रेसन, प्रचारप्रसार, स्वयंसेवक खटनपटन सबैको तयारी पुरा भएको छ' -उनले भने ।

हालसम्म ४९ किलोमिटरका लागस ६७ जनाले नाम लेखाएका छन् भने पाँच किमीका लागि ४२ र एक किलोमिटरका लागि २१ जना गरि १ सय ३० जनाले नाम दर्ता गराइसकेको आयोजकले जानकारी दिएको छ।

खेल क्षेत्रबाट समग्र कर्णाली क्षेत्रको विकासका सम्भावित पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा टेवा पुगोस भनी म्याराथन आयोजना गरिएको शाहीले बताए।

'कर्णालीमा खेल पर्यटनको सम्भावना अधिक रहेको छ। यसको सन्देश अन्तर्राष्ट्रिय स्तरमा प्रवाह गर्नको लागि म्याराथन गर्न लागिएको हो। यसले पर्यटन प्रवर्द्धन गर्नेमा दुईमत छैन।'

उनले रुटको बारेमा जानकारी दिदै भने 'म्याराथन कर्णालीकै प्रशिद्ध चन्दननाथ भैरवनाथ मन्दिरबाट सुरु भएर टुँडिखेल, स्वास्थ्य विज्ञान प्रतिष्ठान, खोलिकोट, कर्णाली प्राविधिक शिक्षालय, चेरेचौर, खाली, न्याउरिगाड, काभ्रा, चौथा, भुलभुले र चुचेमारा भएर रारातालमा पुगेर समापन हुनेछ।’

प्रतियोगितामा क्रमशः प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः पचहत्तर हजार, पचास हजार  र तीस हजार रुपैयाँ प्रदान गरिने तथा उत्कृष्ट १० खेलाडीलाई पाँच हजार नगद, ट्रफि, मेडल र प्रमाण पत्र उपलव्ध गराइने आयोजकले जनाएको छ।

दोस्रो जुम्ला-रारा अल्ट्रा म्याराथनमा पहिलो, दोस्रो र तृतीय हुने ३ महिला र ३ तीन पुरुषले यस वर्ष अक्टोबरमा अन्नपूर्ण गोल्डेन ट्रेल वर्ल्ड सिरिजमा सहभागी हुन पाउनेछन्।

अन्नपूर्णमा पहिलोपटक विश्व विख्यात गोल्डेन ट्रेल वर्ल्ड सिरिज हुँदैछ। जसको क्वालीफाइ रेस जुम्ला-रारा अल्ट्रा म्याराथन हो।

साथै प्रथम हुने महिला र पुरुष यसै वर्ष फिलिपिन्समा हुने 'पनिसर फिफ्टी माइल्स' मा नि:शुल्क प्रवेश पाउनेछन्।

यो रेस ब्राण्ड नभै जुम्ला र राराको प्रवर्द्धनका लागि गर्न लागिएको रोकायाले बताए। 'जुम्ला, रारा जस्ता ऐतिहासिक र प्रसिद्ध ठाउँको प्रचारप्रसार लागि प्रतियोगिता गरिएको हो। एथ्लेटिक्स खेलाडीको प्रोत्साहनका गर्ने काम राज्यले गरेको छैन,' उनले गुनासो गर्दै भने,'खेलाडीले देशको नाम विश्वभर चिनाउने भए पनि राज्य खेलाडीका लागि हुन सकेको छैन।'

सानोतिनो पुरस्कार दिएर भए पनि खेल क्षेत्रको संरक्षण गर्ने र खेलाडीको हौसला बढाउने काममा निकै सह्रानीय भएको नेपाले एथ्लेटिक्स संघका अध्यक्ष राजिव बिक्रम शाहले बताए। 'खेलकुद परिषदमा हुने चरम राजनीतिले नेपालको खेल क्षेत्र अघि बढ्न सकेका छैन,' उनले जुम्लाका खेलाडीको प्रसंशा गर्दै भने,'३९ जिल्लामा एथ्लेटिक्स संघको जिल्ला समिति रहे पनि जुम्लाले सबैभन्दा बढी खेलाडी उत्पादन गरेको छ। त्यसैले यस क्षेत्रको प्रचारप्रसार र खेलको विकासका लागि राज्यले लगानी गर्न आवश्यक छ।'

उनले हरेक वर्ष एक लाखका दरले पाँच वर्षसम्म कर्णाली स्पोर्ट क्लबलाई व्यक्तिगत सहयोग गर्ने घोषणा गरेका छन्।

जुम्ला-रारा अल्ट्रा म्याराथनका लागि अनुमानित ३३ लाख सम्मको बजेट आवश्यक पर्ने शाहीले बताए। रकम अभावका कारण केही समस्या पर्ने भए पनि कर्णाली क्षेत्रका सम्भावित पर्यटकीयस्थलको प्रवर्द्धनका लागि साहसिक खेल हुन जरूरी रहेको उनको मत छ।

प्रकाशित मिति: : 2019-09-13 08:38:48

प्रतिकृया दिनुहोस्