युरो छनोटमा स्पेनको फराकिलो जित

तस्बिरः एजेन्सी

युरो कप छनोट अन्तर्गत स्पेनले फरो आइल्यान्डमाथि ४-० को फराकिलो जित दर्ता गरेको छ ।

आइतबार भएको खेलमा स्पेनलाई जिताउन रोड्रिगो र पाको अल्कासेरले २-२ गोल गरे।

खेलको १३ औं मिनेटमा नै मिकेल ओराजबालको पासमा रोड्रिगोले गोल गर्दै स्पेनले सुरूवाती अग्रता लिएको थियो।

स्पेनले बलमा पकड जमाउँदै थप आक्रमण गरेपनि पहिलो हाफमा गोल थप्न भने सकेन ।

दोस्रो हाफको सुरुवातमै रोड्रिगोले स्पेनको अग्रता दोब्बर पारे। खेलको दोस्रो हाफको इन्ज्युरी समयमा अल्कासेरले दुई गोल गर्दै फराकिलो जित पक्का गरेका थिए।

वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका अल्कासेरले थियागो अलाकान्टराको पासमा पहिलो गोल गरे । लगत्तै जोसे गायनको पास सदुपयोग गर्दै ४-० को जित सुनिश्चित गरे ।

यस जितसँगै स्पेनले युरो छनोटको समूह एफमा शत प्रतिशत जित यात्रा कायम राखेको छ। स्पेनले खेलेका ६ खेलबाट १८ अंक जोडेको छ‌। यस्तै तालिकामा स्वीडेनको ६ खेलमा ११ अंक तथा रोमानियाले ६ खेलमा १० अंक जोडेको छ । नर्वे ९ अंक माल्टा ३ अंक र अंकविहिन फरो आइल्यान्ड पुछारमा छन्।

रामाेसले गरे कासिलासकाे रेकर्ड बराबरी

फारोइ आइल्याण्ड विरुद्धको युरोकप छनोटको खेलपछि स्पेनीस कप्तान सर्जियो रामोस राष्ट्रिय टिमबाट सर्वाधिक धेरै क्याप जित्ने रेकर्डमा इकर कासिलासको बराबरी गरेका छन्।

रियल मड्रिडका पूर्व गोलकिपर कासिलासले एक सय ६७ पटक राष्ट्रिय टिमको क्याप जितेका थिए। जसलाई रामोसले फारोइ विरुद्धको खेलपछि बराबरी गरेका छन्।

यसका साथै युरोपियन देशमा राष्ट्रिय टिमबाट धेरै खेल्ने खेलाडीको सूचीमा उनी शीर्ष १० मा समेत परेका छन्।

३३ वर्षे रामोसले १८ वर्षको उमेरमा सन् २००५ मा राष्ट्रिय टिममा डेब्यु गरेका थिए। सो बेला उनी राष्ट्रिय टिमबाट खेल्ने युवा खेलाडी समेत बनेका थिए।

टिमको राइट ब्याकमा मजबुत प्रदर्शन गर्ने रामोसले आफ्नो जिम्मेवारी २०१० को विश्वकप र दुई पटक युरोकप जित्दा देखाएका थिए । डिफेन्डर भए पनि उनी स्पेनका लागि धेरै गोल गर्ने खेलाडीको सूचीमा शीर्ष १० मा रहेका छन्।

प्रकाशित मिति: : 2019-09-09 08:27:05

प्रतिकृया दिनुहोस्