मोदीको सपथ आज, पश्चिम बंगालका ५४ परिवारका सदस्यलाई विशेष निम्तो

तस्बिरः एजेन्सी

हालै सम्पन्न लोकसभा निर्वाचनमा विशाल जित हाँसिल गरेको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडिए गठबन्धनका नेता नरेन्द्र मोदीले आज बिहिबार दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीको शपथ लिँदै छन् ।

सन् २०१४ मा सत्तामा आएका मोदीले अर्को पाँच वर्षे कार्यकालका लागि शपथ लिन लागेका हुन्। लोकसभा चुनावको ५४३ सिट मध्ये भाजपा एक्लैले ३०३ सहित एनडिए गठबन्धनले ३५० सिट जितेको थियो।

नरेन्द्र मोदीलाई राष्ट्रपति रामनाथ कोविन्दले पद तथा गोपनियताको शपथ गराउने छन्।

शपथ ग्रहण समारोहमा मोदीले बिमस्टेक राष्ट्रका सरकार प्रमुखहरुलाई निम्ता दिएका छन्।

भाजपाले शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न देशका नेता, राज्यका नेताहरुसँगै केही सर्वसाधारणलाई पनि आमन्त्रण गरेको छ।

भाजपाले राजनीति हिंसामा मारिएको भनिएका पश्चिम बंगालका ५४ जनाको परिवारका दुई–दुई सदस्यलाई दिल्ली बोलाएको छ।

साँझ ७ बजे हुने सपथग्रहण समारोहमा ८ हजार जनालाई निम्तो दिइएको छ। भारतीय मिडियाका अनुसार यो सपथ ग्रहण समारोह हालसम्मकै भव्य हुने छ।

भारतको राष्ट्रपति भवनमा यो अहिलेसम्मकै ठूलो कार्यक्रम हुँदै छ । यसअघि सन् २०१४ मा पहिलो पटक प्रधानमन्त्री पदका लागि सपथ लिँदा मोदीले ३ हजार ५ सय जनालाई बोलाएका थिए ।  

मोदीले यसपटक सार्क देशका प्रमुखलाई भन्दा बिमस्टेक देशलाई प्राथमिकतामा राखेका छन् । उनले ४० देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखलाई निमन्त्रणा गरेका छन् । यसपटक मोदीको सपथ कार्यक्रममा मरिससका प्रधानमन्त्री प्रविन्द कुमार, किर्गिस्तानका राष्ट्रपति, बंगलादेशका राष्ट्रपति अब्दुल हमिद, श्रीलंकाका राष्ट्रपति मैथ्रिपाल सिरिसेना, म्यानमार तथा भुटानलगायतका देशका सरकार प्रमुखले पनि सहभागिता जनाउँदै छन् ।  तर, यसपटक पाकिस्तानका प्रधानमन्त्रीलाई सपथग्रहण समारोहमा बोलाइएको छैन। अघिल्लो पटक सार्क देशका प्रमुखहरु सहभागी थिए।

सपथग्रहण समारोहमा सबै मुख्यमन्त्रीहरुलाई पनि बोलाइएको छ, तर पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जी भने सहभागी नहुने भएकी छन्।

 

प्रकाशित मिति: : 2019-05-30 08:31:39

प्रतिकृया दिनुहोस्