कर्णाली प्रिमियर लिगः शुक्रबारदेखि सेमिफाइनल

तस्बिरः बिएल

वीरेन्द्रनगरमा जारी दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग (केपिएल–टु) मा शुक्रबारदेखि सेमिफाइनलका खेल हुनेछन् ।

कालिञ्चोक मैदानमा बुधबार भएको लिग चरणको अन्तिम खेलमा समूह ‘बी’को एपिएफ क्लबले महेन्द्रनगर क्रिकेट एकेडेमीलाई १८ रनले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ।

महेन्द्रनगर हारसँगै समूह चरणबाट बाहिरिएको छ।

एपिएफले दिएको १४४ रनको लक्ष्य पछ्याएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२५ रन मात्र बनायो।

महेन्द्रनगरका सन्तोष भट्टले ३५ बलमा तीन छक्का र चार चौकासहित ५० रन बनाए । हेमन्त कार्कीले ३० रन जोडे। बलिङतर्फ एपिएफका कमलसिंह ऐरीले तीन तथा भुवन कार्कीले दुई विकेट लिए ।

टस जितेर ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन बनायो । राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको एपिएफका लागि सुमित मर्हजनले सर्वाधिक २६ र भुवन कार्कीले २० बनाए।

बलिङतर्फ महेन्द्रनगरका आकाश चन्द र सन्तोष भट्टले तीन/तीन विकेट लिए । चार ओभर बलिङ गर्दै चन्दले १९ तथा भट्टले २० रन खर्चे ।

यस्तै न्यू होराइजन बुटवल उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको छ।     समूह ‘ए’ बाट कर्णाली–११ समूह विजेता तथा त्रिभुवन आर्मी क्लब उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको छ।

शुक्रबार कर्णाली– ११ र न्यू होराइजन बुटवल तथा एपिएफ क्लब र आर्मी क्लबबीच सेमिफाइनल खेल हुनेछ।

 

प्रकाशित मिति: : 2019-05-01 22:44:23

प्रतिकृया दिनुहोस्