आगामी दुई वर्ष पछि गण्डकी प्रदेशमा नवौं राष्ट्रिय बृहत खेलकुद पतियोगिता हुने भएको छ।
प्रदेश नम्बर ५ को नेपालगन्ज रंगशालामा बुधबार साँझ समापन भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अवसरमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुने गरी झण्डा हस्तान्तरण गरिएको हो ।
उक्त समारोहका प्रमुख अतिथि उपराष्ट्रपति नन्द बहादुर पुन, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले बुधबार साँझ पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ सहित खेलाडीहरुको टोलीलाई झण्डा हस्तान्तरण गरेका हुन्।
कार्यकममा राखेपका सदस्यद्धय राजेशकुमार गुरुङ र अस्मिता गुरुङ लगायतको सहभागिता थियो।
विजेता टोलीलाई पुरस्कार वितरण गर्दै उपराष्ट्रपति पुनले नवौं राष्ट्रय खेलकुद प्रतियोगिता आयोजना हुने प्रदेश गण्डकी प्रदेशलाई समयमै तयारीमा जुट्न आग्रह गरे।
पर्यटकीय नगरी पोखरामा केन्द्र हुने गरी खेलपूर्वाधार निमार्ण भइरहेकोमा खुसी व्यक्त गर्दै नवौं खेलकुद अझ व्यवस्थित पार्न सबैलाई समयमै लाग्न अनुरोध समेत गरे।
प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम तय भए पनि विशेष कारणले प्रधानमन्त्री कार्यक्रममा सहभागि नहुने भए पछि उपराष्ट्रपति कार्यक्रममा सहभागि भएका हुन्।
वैशाख ५ गते राष्ट्रपति विद्यादेवि भण्डारीले उक्त प्रतियोगिताको उद्घाटन गरेकी थिइन्। राष्ट्रिय खेलकुद परिषदले गण्डकी प्रदेशमा केही खेलकुदका भौतिक संरचना निमार्ण भएको त केही निमार्णको क्रममा भएकोले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुने निर्णय गरेको राखेपका सदस्य राजेशकुमार गुरूङले बताए।
राष्ट्रिय खेलकुद परिषद्को बुधबार बसेको बैठकले नवौ बृहत राष्ट्रिय खेलकुद २०७७ को फागुन २० देखि २७ सम्म पोखरालाई केन्द्रिकृत गरेर प्रतियोगिता आयोजना हुन लागेको राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिनाले बताए।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा अनुपस्थित भएको बोर्ड बैठकमा उपाध्यक्ष तिम्सिनाले बोर्डको अध्यक्षता ग्रहण गरेका थिए। उनले आफूले गण्डकी प्रदेशलाई आयोजनाको जिम्मेवारी दिने प्रस्ताव गरेको बताए।
दुई वर्षअघि पूर्वाञ्चलमा आयोजना भएको सातौं बृहतमा गण्डकी प्रदेशले आठौंको जोडदार दावी गरेको थियो। तर, तत्कालीन मन्त्री दलजीत श्रीपालीको लविङका कारण गण्डकीको स्थानमा प्रदेश ५ ले आठौ आयोजनाको अधिकार पाएको थियो।
पोखरामा दोस्रो पल्ट बृहत राष्ट्रिय खेलकुद आयोजना हुनेछ। २०४० सालमा पोखराले दोस्रो बृहत राष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो। नवौंको आयोजनाका लागि कर्णाली प्रदेशको पनि दावेदारी थियो।
नेपालगन्जमा भएको आठौं राष्ट्रिय खेलकुदले गर्दा उक्त क्षेत्रमा करिब एक अर्ब बढीको खेलकुदको पूर्वाधारमा लगानी भएको मध्यपश्चिम क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले बताए।
गत चैत २७ गते देखि अनौपचारिक रुपमा विभिन्न खेलकुद प्रतियोगिता सुरु भएको थियो।
३ सय ७२ वटा स्वर्ण पदकको लागि भनि खेल पूर्व घोषणा गरे पनि आर्चरी, ट्याथलन, वडिविल्डिङ खुल्ला इभेन्ट भएकोले उक्त पदक र्याङ्किङमा नजोडिएको हो।
प्रतियोगितामा त्रिभुवन आर्मी प्रथम भएको छ भने पुलिस दोस्रो र एपिएफ तेस्रो भए। प्रदेश नम्बर ३ चौथो र गण्डकी प्रदेश पाचौं भएका छन्। आयोजक प्रदेश नम्बर ५ भने छैठौं स्थानमा रहेको छ।