ट्याक्सी ड्राइभर छोराको अर्को कमाल, एकै दिन दुई कीर्तिमान

नवीन अर्याल


नेपालगञ्ज– अमेरिकाको न्युयोर्क शहरमा उबर ट्याक्सी चलाउँदै आएका फुदोर्जी शेर्पाका छोरा नाथन दोर्जी शेर्पाले नेपालगञ्जमा भइरहेको आठौं बृहत राष्ट्रिय खेलकुदको पहिलो दिन नै दुईवटा नयाँ राष्ट्रिय कीर्तिमान सहित दुई स्वर्ण जितेका छन्।
आइतबारदेखि सुरु भएको पौडीतर्फको स्पर्धामा नाथनले ८ सय मिटर फ्रिस्टायल र २ सय मिटर बटरफ्लाईमा नयाँ कीर्तिमानसहित स्वर्ण जिते।
बिहान भएको ८ सय मिटर फ्रिस्टायल नाथनले ९ मिनेट १७ सेकेन्डमा पुरा गर्दै ‘सर्ट कोर्ष’ मा नयाँ कीर्तिमान बनाएका थिए। दिउँसो उनले २ सय मिटर बट्रफ्लाई २ मिनेट १८ दशमलव १० सेकेन्डमा पुरा गर्दै ‘सर्ट कोर्ष’ मा नयाँ कीर्तिमान बनाए।
उनले नेपाल आर्मीका अनुभव सुब्बालाई पछि पारेका थिए। अनुभवले २ मिनेट १८ दशमलव ९७ सेकेन्डमा दुरी पुरा गरेका थिए। यसअघि हिट्समा नाथनले २ मिनेट २३ दशमलव ५० सेकेन्डमा दुरी पुरा गरेका थिए।
यो स्पर्धामा नेपाल पुलिसका शैयद हमजा शाहले २ मिनेट २९ दशमलव १२ सेकेन्डमा दुरी पुरा गरे। ८ सय मिटरमा रजत जितेका एपिएफका नाथन हुसेनले पदक जित्न सकेनन् । उनी २ मिनेट ३७ दशमलव ५४ सेकेन्डमा दुरी पुरा गर्दै चौथो भए।
प्रतियोगिताका लागि नेपालगञ्ज रंगशालामा निमार्ण गरिएको ५० मिटरको पौडी पोखरी समयमा पुरा नहुँदा आइतबारदेखि स्थानीय सिग्नेट होटलको २५ मिटर छोटो दूरीको पोखरीमा खेल सञ्चालन भएको थियो।
पहिलो पल्ट गैरआवासीय नेपाली (एनआरएन) लाई पनि सहभागी गराइएको आठौं बृहत राष्ट्रिय खेलकुदमा विदेशमै जन्मिएर स्वर्ण जित्ने नाथन पहिलो खेलाडी हुन्। गैरआवासीय नेपालीको तर्फबाट पहिलो स्वर्ण टेनिसतर्फ संरक्षकभूषण ब्रजचार्यले जिताएका थिए। उनी केही वर्षदेखि अस्ट्रेलियामा ट्रेनिङ गरिरहेका छन्।
नाथन ७ वर्षको उमेरदेखि अमेरिकाको न्युयोर्कस्थित ‘ट्वीस्टर स्विमिङ क्लब’मा पौडी सिकिरहेका छन्। उनको पहिलो प्रशिक्षक भेर्नी हुन् भने पछि ज्याफ चेनले उनलाई प्रशिक्षण दिएका थिए। हाल उनको मुख्य प्रशिक्षक ड्रोगोइस हुन्।
‘म निकै खुसी छुँ। मेरो यो नौलो अनुभव हो। अमेरिकामा इन्डोरमा खेलिरहेको यहाँ आउट डोरमा खेले,’ १५ वर्षीय नाथनले ब्रेकिङलिंक्सलाई छोटो प्रतिक्रिया दिए।
नाथनका बुवा फुदोर्जी शेर्पा र आमा छिरिङ शेर्पा २८ वर्षअघि अमेरिका पलायन भएका थिए। उनीहरुको बिहे अमेरिकामै भएको थियो। नाथनकी आमा छिरिङ भन्छिन्, ‘हामीले २४ बर्ष अगाडि न्युयोर्कमा बिहे गरेका थियौं।’
उनले छोरालाई खेलाडी बनाउने सौख विस्तारै पुरा हुन थालेकोमा खुसी जनाइन्। ‘धेरै दुःख गरेर यहाँसम्म आइपुग्यौं। छोराको सफलतामा गर्व लागेको छ,’ छिरिङले भनिन्।
नाथन हाल न्युयोर्कस्थित एभिएसन हाइस्कुलमा १० कक्षामा अध्ययनरत छन्। उनले आठौं बृहत राष्ट्रिय खेलकुदमा ७ वटा विद्यामा भाग लिएका छन्। उनले १ सय मिटर बटरफ्लाई, ४ सय मिटर फ्रिस्टायल, २ सय मिटर ब्याक र २ सय मिटर इन्डिभिजुअल मिडले खेल्न बाँकी छ।

प्रकाशित मिति: : 2019-04-21 20:38:11

प्रतिकृया दिनुहोस्