राष्ट्रपति विद्यादेवी भण्डारीले साँझ ७ बजेर ३० मिनेटमा आठौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना सुरु भएको घोषणा गरेसँगै नेपालगञ्जमा ३६ वर्षपछि दोस्रो पल्ट यो प्रतियोगिताको संस्करण सुरु भएको छ।
‘आठौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भएको औपचारिक घोषणा गर्दछु’, विशेष अतिथिको रुपमा फेरिएको नेपालगञ्ज रंगशालामा राष्ट्रपति भण्डारीले उद्घोष गरिन्। २०५५ सालमा नेपालगञ्जले चौथो बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गरेको थियो। नेपालमा प्रदेश सरकार स्थापना भएपछि पहिलो पल्ट नेपालगञ्जले प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको हो।
प्रतियोगितामा ७ वटै प्रदेश, तीन विभागीय टिम नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रलगायत पहिलो पल्ट गैरआवासीय नेपालीको सस्था एनआएएनएको टिम गरि ११ टोली सहभागी छन्।
उद्घाटन सत्रमा सबै टोलीले मार्चपास गरेका थिए। नेपालगञ्जको परम्परालाई झल्काउने झाँकीसहित विभिन्न सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो। प्रतियोगितामा ५ हजारभन्दा बढी खेलाडीले ३ सय ७२ स्वर्ण, ३ सय ७२ रजत र ५ सय ६३ कास्यका लागि प्रतिस्पर्धा गर्दैछन्।
आठौं बृहत राष्ट्रिय खेलकुदको ‘टर्च’ ओलम्पियन सुरेन्द्र हमालले प्रज्वलन गरे। राष्ट्रिय खेलकुदको झण्डात्तोलन युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले गरेका थिए।
खेलाडीको तर्फबाट युवा खेलाडी सोनु भट्टले सपथ लिएकी थिइन। यस्तै, पूर्व खेलाडी समसुद्दित सिद्धिकीले जजहरुको तर्फबाट सपथ लिएका थिए।
आठौं बृहत राष्ट्रिय खेलकुद बैशाख ११ मा सम्पन्न हुनेछ।
यो पनि हेर्नुहोस्