आईपीएलः शीर्ष स्थानको चेन्नईलाई हराउँदै हैदरावाद पाँचौ स्थानमा

तस्बिरः एजेन्सी

शीर्ष स्थानको चेन्नई सुपर किङ्सलाई हराउँदै सनराइज हैदरावाद भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पाँचौ स्थानमा उक्लिएको छ।

राजिब गान्धी क्रिकेट स्टेडियममा बुधबार शीर्ष स्थानको चेन्नईलाई घरेलु टोली सनराइजर्स हैदरावादले ६ विकेटले हराएको हो।

चेन्नईले दिएको १३३ रनको सामान्य लक्ष्य घरेलु टोलीले १६.५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो।

हैदरावादका लागि जोनी बैयर्स्टो र डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले। बैयर्स्टोले अविजित ६१ रन बनाउँदा वार्नरले ५० रन बनाए। चेन्नईका इमरान ताहिरले २ विकेट लिए पनि हार जोगाउन सकेनन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्र सिंह धोनीको टिम चेन्नईले पुरै २० ओभरमा ५ विकेट गुमाएर १३२ रन बनाएको थियो ।

चेन्नईका लागि फाफ डु प्लेसिसले ४५ रन जोड्दा सेन वाट्सनले ३१ रन बनाए। अम्बात्ती रायडुले २५ रन बनाउँदा कप्तान शुरेश रैना १३ रनमा आउट भए। आज धोनीको सट्टामा रैनाले चेन्नईको नेतृत्व गरेका थिए।

हैदरावादका राशिद खानले २ विकेट लिए।

यो जितसँगै हैदरावाद अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ। ८ खेल खेलेको हैदारावादले ४ खेलमा जित निकाल्दै ८ अंक जोडेको छ।

यता घरेलु टोलीसंगको हारसँगै चेन्नईले शीर्ष स्थानको अग्रता फराकिलो बनाउने मौका गुमाएको छ। चेन्नईले ९ खेलबाट १४ अंक जोडेको छ। यद्यपी शीर्ष स्थानमा ४ अंकको अग्रता कायमै छ।

प्रकाशित मिति: : 2019-04-17 23:54:42

प्रतिकृया दिनुहोस्