कोरियामा रहेका नेपालीद्वारा खाङ्न्दो अग्नीपिडितलाई सहयोग: निर्देशक जङद्वारा प्रशंसा

एनआरएन कोरियाका पूर्वअध्यक्ष राजु क्षेत्री त्यहाँको कानुन मन्त्रालयका निर्देशक विएई जङलाई सहयोग हस्तान्तरण गर्दै। तस्विर: राजु क्षत्री

कोरियाको खाङ्न्दो शहरमा भएको आगलागीबाट पीडित बृद्ध र अपाङ्गको सहयोगार्थ दक्षिण कोरियामा रहेको नेपाली समुदायले ३२ लाख ७७ हजार वन आर्थिक सहयोग गरेको छ। एनआरएन कोरियाका पूर्वअध्यक्ष राजु क्षेत्रीको संयोजनमा संकलित रकम उनकै नेतृत्वमा गएको प्रतिनिधिमण्डलले त्यहाँको कानुन मन्त्रालयका निर्देशक विएई जंगलाई हस्तान्तरण गरेको छ। 

सहयोग हस्तान्तरण कार्यक्रममा निर्देशक जंगले कोरियामा रहेका नेपाली मेहेनती एवं सहयोगी रहेको भन्दै प्रशंसा गरेका थिए। उनले खाङ्न्दोमा भएको आगलागीका पीडितलाई गरेको यो सहयोग नेपालीले कोरियनप्रति गरेको माया र करूणा भएको बताउँदै त्यसका लागि कोरियन सरकार र जनता आभारी रहने बताए। 

आर्थिक सहयोग अभियान संयोजक राजु क्षेत्रीले कोरियाली अग्नीपीडितको दुःखमा मल्हम लगाउने काम गरेको बताउँदै कोरिया र कोरियाली जनताले नपाल र नेपालीलाई गरेको सहयोगको अगाडि यो केही पनि नभएको बताए। अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी तथा प्रशिक्षक क्षेत्रीले कोरियामा एक प्रतिष्ठित ब्यवसायीको परिचय बनाएका छन्। 

कार्यक्रममा जनसम्पर्क समिति कोरियाका पूर्वअध्यक्ष गंगा थापा श्रेष्ठ, एनसीसी अध्यक्ष अन्जु केसी, एनआरएन कोरियाका संरक्षक ध्यान राई, नेपाल कोरिया भलिबल संघका अध्यक्ष भजेन्द्र क्षेत्री, गुल्मी सम्पर्क समितिका अध्यक्ष गान्दिप सुवेदी, एनसीसीका बरिष्ठ उपाध्यक्ष श्री श्रेष्ठ, समाजसेवी मनु जुगजाली, विजय कार्की, नेपाल कोरिया पत्रकार संघका पूर्वउपाध्यक्ष सन्दिप पाण्डेलगायतको उपस्थिति थियो ।

कोरियाको खाङन्दो शहरमा भएको आगलागी संयौ घर तथा अपार्टमेन्ट जलेर नष्ट हुनुका साथै केहीको मृत्यु पनि भएको थियो।आगलागीपछि कोरियाली सरकारले संकटकाल नै घोषणा गरेको थियो।आगलागीबाट उत्तर-पूर्वीतटीय क्षेत्रका पाँच शहर नराम्रोसँग प्रभावित भएका थिए ।

नेपाली समुदायले गरेको उक्त राहत रकम सानो भए तापनि कोरियाली अग्नीपीडित जनतालाई राहत पुग्ने विश्वास कोरियामा बसोबास गर्ने नेपाली समुदायको छ। स्मरणीय छ, २०७२ सालको महाभूकम्पमा कोरिया नेपाललाई धेरै सहयोग गर्ने राष्ट्रको सूचीमा दोस्रो रहेको थिय। त्यसताका राहत लिएर नेपाल गएका नेता मुञ्जे इन नै अहिले कोरियाका राष्ट्रपति रहेका छन्।

प्रकाशित मिति: : 2019-05-08 22:48:29

प्रतिकृया दिनुहोस्