मेसी फर्केिएको खेलमा अर्जेन्टिना ३-१ले पराजित

तस्बिरः एजेन्सी

लामो समयपछि राष्ट्रिय टोलीमा फर्किएका लियोनल मेसीका लागि अन्तर्राष्ट्रिय पुनरागमन सुखद रहेन।

मेसी नेतृत्वकोअर्जेन्टिना शनिबार बिहान खेलेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा भेनेजुएलासँग ३-१ गोलले पराजित हुनपुग्यो।

सन् २०१८ मा रूसमा सम्पन्न विश्वकपपछि मेसी पहिलोपटक राष्ट्रिय टोलीमा फर्किएका हुन्।

३१ वर्षीय मेसी भेनेजुएलाविरुद्ध मैत्रीपूर्ण खेलमा पहिलो रोजाइमा परेका थिए।

भेनेजुएलाका लागि खेलको छैठौं मिनेटमा सालोमोन रोन्डोनले गोल गर्दै सुरूवाती अग्रता दिलाएका थिए। पहिलो हाफको अन्त्यतिर जोन मुरिलोले गोल गर्दै अग्रता दोब्बर पारे।

पहिलो हाफमा २-० ले पछि परेको अर्जेन्टिनाका लागि ५९औं मिनेटमा लौटारो मार्टिनेजले गोल गर्दै अन्तर कम गरे। तर, खेलको ७६औं मिनेटमा जोसेफ मार्टिनेजले पेनाल्टीमा गोल गर्दै भेनेजुएलालाई ३-१ गोलले अगाडि बढाउँदै सहज जित दिलाए।

अर्जेन्टिनाका प्रशिक्षक लिओनेल स्कालोनीले सर्जियो अगुएरो, गोन्जालो हिगुआइन, माउरो इकार्डीलगायत फरवार्डलाई टोलीमा समावेश गरेका थिएनन्। स्कालोनीले पाउलो डिबालालाई पनि बेन्चमा नै सीमित राखेका थिए ।

खेलका क्रममा मेसी घाइतेसमेत भएका छन्। यद्दपि, उनको समस्या गम्भीर नभएको बताइएको छ।

खेलका क्रममा ग्रोइनको समस्या देखिएका कारण मेसीले आगामी मंगलबार हुने मोरक्कोविरुद्घको मैत्रीपूर्ण खेल गुमाउन सक्ने सम्भावना छ।

नौ महिनाको अवधिमा मेसीले अर्जेन्टिनाले खेलेका ६ वटा अन्तर्राष्ट्रिय खेल खेलेनन्। तर, व्यावसायिक क्लब बार्सिलोनाबाट भने निरन्तर खेलिरहेका थिए।

प्रकाशित मिति: : 2019-03-23 09:30:51

प्रतिकृया दिनुहोस्