जुम्लाका वडा-वडामा हेलिप्याड : ठीक कि बेठिक ?

नेपाल सरकारकाे लगानीमा जुम्ला जिल्लाका वडा वडामा हेलिप्याड निर्माण गर्ने काम जिल्ला प्रशासन कार्यालयकाे अगुवाइमा चलिरहेकाे छ। प्रशासनले प्रत्येक वडाकाे पायकपर्ने स्थानमा हेलिप्याड निर्माणकाे लागि गाउँपालिका र नगरपालिकासँग समन्वय थालिसकेको छ।

गर्भवती महिला सुत्केरी हुँदा, गाउँमा नागरिक अशक्त हुँदा र आपतविपत परेकाे बेला तत्काल हेलिकप्टरमार्फत उद्धार गर्ने सरकारी याेजनाअनुरुप वडावडामा हेलिप्याड निर्माण याेजनालाई प्रभावकारी रुपमा लागु गराउन लागिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडे बताउँछिन्। उनी अगाडि भन्छिन् 'आपतविपतकाे बेला छिटोभन्दा छिटाे सरकारकाे उपस्थिति जनाउन याे कदम चालिएकाे हाे। यसबाट दुर्गमका नागरिक बढी लाभान्वित हुनेछन्।'

जिल्लामा रहेकाे एक नगरपालिका र सातवटा गाउँपालिकाका सबै वडामा हेलिप्याड निर्माण गर्ने गरी पत्राचार गरिएकाे छ। आपतविपतकाे बेला उद्धार गर्ने उदेश्य रहेकाे याे कार्यक्रमको असर के छ त ? याे छलफलकाे विषय हाे। कतिले यसलाई निकै महत्त्वपूर्ण मानिरहेका छन् भने कतिले हल्कारुपमा लिएका छन्। त्यस्तै कतिले त याे कार्यक्रमलाई सस्ताे लाेकप्रियता कमाउने कार्यक्रमकाे रुपमा मात्र बुझेका छन्।

नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतलाई जिल्लाका हरेक वडामा हेलिप्याडको निर्माण कार्यक्रम निकै सान्दर्भिक लाग्छ। उनी भन्छन् ‘कुन बेला के आइलाग्ने हो कसैलाई थाहा हुदैन्, आपतविपतकाे बेला उद्धारदेखि जटिल प्रकारको सुत्केरीलाई लैजान सहज हुन्छ।'

प्रमुख जिल्ला अधिकारी बन्जाडे भन्छिन् 'दुर्गम वस्तीका नागरिकलाई नि:शुल्क सुविधा दिने गरी तयारी थालिएकाे छ। समस्या आउने बित्तिकै प्रशासन कार्यालयमा खबर आउने छ। प्रशासनकाे समन्वयमा गृहमन्त्रालयले हेलिकप्टर पठाई उद्धार कार्यलाई सजिलाे र छरिताे गर्नेछ।'

प्रजिअले भनेजतिकाे उद्धार कार्य सजिलाे भने नहुन सक्छ। उद्धार कार्य कति समयमा गर्न सकिन्छ भनेर समयसिमा ताेकिएकाे छैन। गृह मन्त्रालयसँग प्रशस्त संख्यामा हेलिकप्टर नभएकाे हुनाले प्रचार गरिए अनुसारकाे सेवा प्रवाह हुनेमा संका छ। लेखक तथा स्तम्भकार रामसिंह रावललाई पनि त्यस्तै लागिरहेको छ। उनी भन्छन् 'यसरी हेलिप्याड निर्माण गर्नु सकारात्मक भएपनि भने अनुसारको सेवा प्रवाह गर्ने मामलामा सरकार निकै पछि रहेकाेले याे कार्यक्रम सस्ताे लाेकप्रियताकाे लागि मात्र हुने देखिन्छ।'

केही दिनअघि हुम्लामा माैसमी रुघाखोकी लागेर १० जनाकाे ज्यान जाँदा र सयाैं बिरामी हुँदा औषधि र चिकित्सककाे टाेली सरकारले समयमै पठाउन सकेन। प्रदेश सरकारले समेत हेलिकप्टर छिटाे पठाउन आग्रह गरेकाे थियाे तर पनि सेवा प्रवाह गर्ने समयमा सरकार चुक्याे।

त्यसाे त सरकारले सुत्केरी महिलाकाे हेलिकप्टरबाट उद्धार गरेका उदाहरण पनि नभएका हाेइनन्। तर, यसमा समन्वयकारी निकायको प्रभावकारिता कस्ताे हुन्छ भन्ने कुराले अर्थ राख्छ।

वडावडामा स्वास्थ चाैकी छन्। ती स्वास्थ्य चाैकीमा पर्याप्त औषधि र चिकित्सक नहुँदा नागरिक सदैव मारमा पर्दै आएका छन्। कतिपय ठाउँमा नमुना स्वास्थ्य संस्थाका भवन पनि छन्। तर, ती स्वास्थ्य संस्था अधिकांश समय तल्लो दर्जाका कर्मचारीको भरमा चलेका थुप्रै उदाहरण छन्। यदि ती ठउँमा दक्ष तथा अनुभवी स्वास्थ्यकर्मीलाई सेवा गर्ने पवित्र उदेश्यले पठाउन सकिएमा नागरिकले प्रभावकारी सेवा उपभाेग गर्न सक्नेछन्।

यस्ताे हुन सकेकाे खण्डमा सरकारले एक जना बिरामीकाे लागि मात्र भनेर लाखौं खर्च गरिरहनपनि पर्दैन।रावल थप्छन् 'देशकाे अर्थतन्त्रले धान्न सक्ने सम्मकाे काम गर्नुपर्छ। याेजना प्रभावकारी हुनुपर्छ। सिटामाेल नपाएर मान्छे मरिरहेकाे छ भने त्याे ठाउँमा सिटामाेल पठाउँदा नै उपयुक्त हुन्छ। हेलिकप्टरबाट उद्धार गर्नु नराम्राे हाेइन तर तत्कालीन समस्यालाई प्राथमिकता दिनुपर्छ।

गर्भवती, सुत्केरी र अशक्त बिरामी तथा विपतकाे बेला नागरिकले लाभ लिन सक्ने गरि सुरु गरिएकाे हेलिप्याड निर्माण याेजनाकाे लागत निकै कम हुनेछ भने समस्या समाधान गर्न सकिएमा निकै उपयाेगी सावित हुनेछ।समस्या नपरुन्जे उपयाेगिता र प्रभावकारीता नहुने हुनाले यसलाई बहुउपयोगी हुने गरी प्रयाेग गर्न सकेमा लाभदायक हुनेछ।

तिला गाउँपालिकाका अध्यक्ष रतननाथ याेगीलाई याेजना हेलिप्याड निर्माणका लागि मात्रै भएपनि यसलाई बहुउद्देश्यीय बनाउने गरी तयारी गर्नुपर्ने लागिरहेको छ। उनी भन्छन् 'आपतविपतकाे बेला हेलिकप्टर बसाल्ने र अरुबेला पार्क तथा सभास्थल जस्ताे बनाउन सकिन्छ।' उनले त्यही उदेश्य बमोजिम सबै वडालाई काम थालनी गर्न समेत भनेकाे थपे।

याेगीले भनेजस्तो बहुउपयाेगी बनाउन सके हेलिप्याडकाे उपयाेगिता बढ्ने छ। सबै नागरिकले लाभ लिन सक्नेछन्। सबैलाई पायक पर्ने स्थानमा बनाउन सके सबैकाे अपनत्व बढ्नेछ।

तर जिल्ला प्रशासन कार्यालयले तय गरेकाे याेजनामा त्यस्ता उदेश्य उल्लेख छैनन्। सरकारले हालसम्म तय गरेका धेरै याेजनाकाे प्रभावकारीता कम देखिएकाे छ। काम जिम्मा लिने निकायले सदैब बेइमानी गरेका थुपै याेजना छन्। त्यसैकाे चाँङमा अर्काे याेजनालाई गाँठाेपारी राख्ने काम नहाेस्

प्रकाशित मिति: : 2019-05-02 06:14:23

प्रतिकृया दिनुहोस्