२०५४ साल भदौं २७ मा जनआस्था साप्ताहिक पत्रिकामा एउटा लेख प्रकाशित भयो। लेखको शीर्षक थियो– ‘कालापानी काठमाडौंलाई किन दुख्दैन्?’
यो बेजोड लेखका लेखक थिए, प्रेमसिंह धामी। तत्कालीन एकीकृत माक्र्सवाद लेनिनवाद (एमाले) का सांसद। कालापानीका सच्चा योद्धा।
लेख प्रकाशित भएको भोली पल्ट नै अर्थात भदौं २८ मा नुवाकोटको मदानपुरस्थित केउरिनी भीरमा जीप दुर्घटना भएको समाचार आयो। अपत्यारिलो लाग्ने त्यो जीप दुर्घटनामा कालापानीका यिनै नेपाली सपूत प्रेमसिंह धामीको निधन भयो।
नेपालको अभिन्न अंग र सुदूर पश्चिमी सीमाको मुटु मानिने दार्चुलामा अवस्थित कालापानीको मुद्धालाई सडकदेखि सदनसम्म पुर्याउन प्रेमसिंह धामीको ठूलो योगदान छ। २०१८ सालदेखि भारतले आफ्नो अधिनमा राखेको कालापानीको विषयलाई राष्ट्रिय मुद्धा बनाउने बीर नेपाली सपूत हुन्, प्रेमसिंह धामी।
आजकै दिन २२ वर्षअघि उनको जीप दुर्घटनामा निधन भएको थियो। नेपालका सच्चा सपूत धामीलाई हिजोआज थोरै मात्र नेता तथा कार्यकर्ताले सम्झने गर्छन। उनको गृहजिल्ला दार्चुलामा भने कार्यक्रमको आयोजना गरि हरेक वर्ष उनलाई सम्झिने गरिन्छ।
अन्तर्राष्ट्रिय राजनीतिको समेत चेत भएका नेताको रुपमा आफूलाई उभ्याउन सफल भएका धामी कुनै बेला कालापानीसँगै नेपाली राजनीतिमा खुब चर्चामा थिए। उनको असमायिक निधनले देशले ठूलो क्षति बेहोर्नु पर्यो र अहिले पनि बेहोरिरहेकै छ।
तत्कालीन समयमा नेकपा एमालेका महाकाली इन्चार्ज रहेका धामी प्रखर वक्ता थिए। उनको निधनले पार्टीलाई अपूर्णीय क्षति पुगेको भन्दै केन्द्रका नेताहरू उनको प्रसंसा गर्छन। तर, आज उनलाई सम्झने दिन। न उनको पार्टीले सम्झियो, न नेताहरूले नै।
जसले कालापानीको मुद्धालाई राष्ट्रिय मुद्धाको रुपमा स्थापित गरायो, उनलाई बिस्तारै देशले बिर्सदै गएकोमा गुनासो गर्छिन्, प्रेमसिंह की पत्नी नन्दा देवी धामी।
नन्दाले राज्यबाट कुनै अपेक्षा पनि गरेकी छैनन्। उनको एउटै भनाई छ, जनताका लोकप्रिय नेता, जसको दुर्घटना नुवाकोटको मदानपुरको केउरिनी भीरमा भयो, त्यहाँ प्रेमसिंह धामीको शालिक स्थापना गरियोस्।
‘उहाँको योगदानलाई कम से कम पार्टीका नेताले भदौं २७ मा स्मरण गरिदियोस् भन्ने मलाई लाग्छ,’ श्रीमति नन्दाले बीएल नेपाली सेवासँग गुनासो पोखिन्। विगतमा उनी भदौं २७ मा महेन्द्रनगरबाट सपरिवार नुवाकोटस्थित केउरिना भीर पुगेर आफ्नो श्रीमान र लोकप्रिय नेतालाई श्रद्धासुमन अर्पण गर्थिन्।
तर, यसपालि उनी नुवाकोट नआएर महेन्द्रनगरबाट सिधै दार्चुला पुगेकी छिन्। देशको बिडम्बना। यतिबेला प्रेमसिंह धामीको श्रद्धाञ्जली सभा दार्चुलाबाहेक अन्य कही पनि मनाइदैन्।
लामो समय कञ्चनपुरबाट राजनीति गरेका प्रेमसिंह गृहजिल्ला दार्चुलाबाट निर्वाचित सांसद थिए। नन्दा कञ्चनपुरले त अझ उनलाई कहिल्यै नसम्झेको गुनासो गर्छिन्।
काठमाडौंमा ‘कालापानी ल फर्म’ खोलेर बसेका वकिल प्रेमसिंह धामीले लामो समय आफ्नो नामसँग मेल खाने नेता प्रेमसिंहसँग संगत गरेका थिए। उनी पनि गुनासो गर्छन, ‘नेपालीलाई सधै बिजिरहने कालापानीको मुद्धालाई पहिलो पल्ट राष्ट्रियकरण गरेका धामीको दुर्घटनामा निधन भएको यति धेरै समय बितिसक्यो तर न उनको पार्टी, न देशले उनलाई सच्चा श्रद्धाञ्जली दिन सकेको छ,’ वकिल प्रेमसिंह भन्छन्।
उनी दुर्घटना भएको स्थलमा प्रेमसिंहको शालिक भएपनि स्थापना गरिनुपर्ने माग राख्छन्। उनी दुर्घटना स्थलमा शालिक बनाउने सम्बन्धमा भन्छन्, ‘स्थानीय नेता, समाजसेवी र प्रशाषनसँग कुरा भइसकेको छ। आर्थिक कठिनाईका कारण शालिक निर्माण गर्न सकिरहेका छैनौं। सम्भवत अर्को वर्ष भदौं २७ मा निजको शालिक अनावरण गरिसक्छौं कि?’
दार्चुलाबाट प्रतिनिधित्व गर्ने सांसद गणेश ठगुन्ना आफ्ना अग्रज नेताको योगदान प्रति नतमस्तक हुन्छन्। भन्छन्, ‘हामीले उहाँको योगदानको चर्चा गर्नेपर्छ। उहाँको आत्माको शान्ति तथा सबै नेपालीले सम्झनका लागि भएपनि शालिक निर्माण गर्नेपर्छ,’ ठगुन्नाको भनाई छ।
प्रेमसिंहको समाजप्रतिको लगाव र देशको राजनीति एवम् सीमा सम्बन्धी सोचलाई राज्यले कदर गर्नुपर्ने हुन्छ। उनले उठाएका मुद्धा र देखेको सपनाले मात्र यो देशलाई समृद्ध र आत्मसम्मान दिलाउँछ।
प्रेमसिंहको निधन हुँदा उनको शवलाई पहिले काठमाडौंको खुलामञ्चमा श्रद्धाञ्जली दिइएको थियो। भोलिपल्ट गृहजिल्ला दार्चुला पुर्याएर त्यहाँको खुलामञ्चमा हुँदै महेन्द्रनगरमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेर महाकाली नदीमा बिर्सजन गरिएको थियो।
सदियौं देखि दबिएको सुदूरपश्चिमको अवाजलाई देशभित्र प्रखर रुपमा उठाउने यी योद्धाको निधन प्रति गहिरो श्रद्धासुमन।