धुलोपीडित स्थानीयले बन्द गराए दक्षिणकाली सडक

सडक भत्काएर चार वर्षसम्म पनि पिच नहुँदा धुलोले आक्रान्त स्थानीयले बल्खु–हेटौंडा सडकको दक्षिणकाली खण्ड अवरुद्ध पारेका छन्।

अवरोधका कारणा बल्खु–हेटौंडा रुटमा सञ्चालन हुने सवारी साधन ठप्प भएका छन्।

यो रुटमा साना सवारी साधनहरु सञ्चालन हुनेगर्छन्। टाटासुमो सार्वजनिक यातायातको रुपमा प्रयोग हुनेगर्छ।

इलाका प्रहरी कार्यालय फर्पिङका अनुसार बिहान १०ः५५ देखि स्थानीय प्रदर्शनमा उत्रिएका हुन्। उनीहरुले दक्षिणकाली नगरपालिका–८ स्थित शीतल चोकमा अवरोध खडा गरेका छन्।

एउटा समूहसँग १२ बजे सहमति भए लगत्तै अर्को समूहले सडक अवरोध गरेको प्रहरीले जनाएको छ। दोस्रो समूहसँग वडा अध्यक्ष राजकुमार लामासहितको टोलीले छलफल गरिरहेको छ।

बल्खुदेखि फर्पिङसम्मको ९.५ किलोमिटर सडक चौडा गर्ने र सर्फेस ड्रेसिङ पिच गर्ने ठेक्का भारतीय कम्पनी सीमान्चल र गौरी पार्वती–सौनाला खिम्ती जेभीले पाएका छन्। सन् २०१५ ठेक्का लिएको एक वर्षपछि मात्र कम्पनी काममा फर्किएको थियो।

गत आर्थिक वर्षको असार महिनामा हतार हतार सडक पिच गर्न खोज्दा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको थियो।

प्रकाशित मिति: : 2019-05-28 14:21:46

प्रतिकृया दिनुहोस्