भुटानी नायिकाको नेपालमोह

भुटानकी नायिका उग्येन छोडेन । तस्बिर : अन्नपूर्ण

काठमाडौं : भुटानकी नायिका उग्येन छोडेन यति बेला नेपालमा छिन्। प्रायः भुटानको राष्ट्रिय पोसाक ‘किरा’मा देखिने उनले भर्खरै नायक पल शाहसँग नेपाली म्युजिक भिडियोमा काम गरिन्। भन्छिन्, ‘पलसँग काम गर्दा निकै रमाइलो भयो। उनको सरल बानीले मन छोयो।’

उग्येन भुटानी हुन् तर नेपाली भाषा मज्जाले बोल्छिन्। थिम्पुमा बस्दै आएकी उनले भुटानको फिल्म उद्योगमा करिअर सुरु गरेको चार वर्ष भयो। उनको पहिलो फिल्मको नाम ‘लोक सो’ हो। उनले अहिलेसम्म सातवटा फिल्म खेलिसकेकी छन्। अभिनयसँगै फिल्म निर्देशन र निर्माणमा समेत हात हालेकी उग्येन पछिल्लो समय कमर्सियल फिल्ममा देखिन थालेकी छन्।

पहिलो फिल्म निकै राम्रो भएपछि उनको डिमान्ड फिल्म उद्योगमा बढ्दै गयो। अहिलेसम्म उनका सबै फिल्म हिट छन्। भुटानमा प्रायः प्रेम कथानक र सामाजिक सचेतनामूलक फिल्म बन्ने गरेको उनी बताउँछिन्।

चलचित्र क्षेत्रमा आउनुअघि उनी एक ट्राभल एजेन्सीमा काम गर्थिन्। नायिका बन्छु भन्ने उनले सोचेकै थिइनन्। भन्छिन्, ‘भाग्यले यहाँसम्म पुर्‍यायो।’ लजालु र अन्तरमुखी स्वभाव भएकाले चलचित्र क्षेत्र आफ्नो लागि नभएको उनी सोच्थिन्। तर आज भुटानलाई विश्वभर चलचित्रको माध्यमबाट चिनाउन उनी अग्रसर छिन्।

प्रकाशित मिति: : 2019-05-25 09:40:18

प्रतिकृया दिनुहोस्