भारतलाई विद्युत बेच्ने कुलमानको फर्मुला यस्तो, 'यही बर्खादेखि २०० मेगावाट विद्युत निर्यात गर्छौ'

तस्बिरः पहिलाे पोष्ट

काठमाडौं: नेपाल विद्युत प्राधिकरणले यही वर्षदेखि २०० मेगावाट विद्युत भारत निर्यात गर्ने भएको छ। अहिले रातको समयमा ९०० मेगावाट मात्रै विद्युत माग रहेको र असारभित्र नेपालले एक हजार एक सय मेगावाटभन्दा बढी विद्युत उत्पादन गर्ने हुँदा रातको समयमा बढी हुने करिब २०० मेगावाट विद्युत निर्यात गर्ने अवस्थामा पुगेको हो।

प्राधिकरणले निर्माण गरेको ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ए र १४ मेगावाटको कुलेखानी ३ बाट ७४ मेगावाट विद्युत थपिदै छ। त्यसैगरी निजी क्षेत्रका आयोजनाबाट ४० मेगावाट विद्युत थपिइसकेको छ। 

वर्षातमा सबै आयोजना पूर्ण क्षमतामा चलेमा एक हजार एक सय मेगावाटभन्दा बढी विद्युत उत्पादन हुने र रातको सयमा ९०० मेगावाट हाराहारी मात्रै विद्युत खपत हुने हुँदा २०० मेगावाट विद्युत निर्यात गर्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पहिलोपोस्टलाई बताए।

अहिले पिक समयमा एक हजार एक सय ९५ मेगावाट विद्युत माग छ। नेपालले भारतबाट अहिले पिक समयमा ४७२ मेगावाटसम्म विद्युत आयात गरिरहेको छ। 

रातको समयमा ९०० मेगावाट मात्रै विद्युत माग हुँदा पनि २०० मेगावाट विद्युत भारतबाटै आयात भइरहेको छ। तर वर्षा सुरु भएसँगै विद्युत उत्पादन बढ्ने र रातको समयमा तत्कालै निर्यात गर्नुपर्ने भएको हो।

जडित क्षमता धेरै भएपनि जलाशययुक्त आयोजना रातमा सञ्चालन हुँदैनन्। अर्ध जलाशययुक्त आयोजना पनि रातमा सञ्चालनमा आउँदैनन्। त्यसैले तत्काल वर्षायममा उत्पादन हुने विद्युत एक हजार मेगावाट हारहारी मात्रै हो। 

रातको समयमा विद्युत माग नौ सय मेगावाट हारहारी छ। १०० मेगावाट जति माग तलमाथि भइरहन्छ। भदौ भन्दापछि आयोजनाले शतप्रतिशत विद्युत उत्पादन गर्ने र त्यतीबेला सम्म थप केहि आयोजना पनि सञ्चालनमा आइसक्ने हुँदा नेपालले २०० मेगावाट जति विद्युत भारत निर्यात गर्ने घिसिङले बताए।

प्रकाशित मिति: : 2019-05-22 15:57:01

प्रतिकृया दिनुहोस्