स्वयम्भू महाचैत्य छेउमा जंगल हड्पेर कंक्रिट गुम्बा

स्वयम्भू महाचैत्य छेउमा भइरहेको निर्माण। के यो पुरातत्व मापदण्डअनुरूप छ? तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी

स्वयम्भू, भगवानपाउको प्रवेशद्वार आधुनिक शैलीमा बनेको भन्दै स्थानीयले विरोध गरेपछि काठमाडौं महानगरपालिकाले गत शुक्रबार डोजर चलायो। तर, स्वयम्भू महाचैत्य परिसरमा जंगलसमेत हड्पेर आधुनिक संरचना निर्माण भइरहँदा पनि महानगर मौन छ।

महाचैत्यछेउ पहिलेभन्दा सात गुना बढी क्षेत्रफल ओगट्ने गरी ‘कर्मराज महाविहार’ निर्माण हुँदैछ। आधुनिक शैलीमा बन्दै गरेको यो गुम्बालाई महानगरले नै अनुमति दिएको हो।

विश्व सम्पदा सूचीकृत क्षेत्रमा कुनै पनि संरचना आधुनिक शैलीमा निर्माण गर्न पाइँदैन। वसन्तपुर दरबार क्षेत्रदेखि पशुपतिसम्म यही कारणले विवादित बन्दै आएको छ।

सन् १९५४ मा निर्माण भएको कर्मराज महाविहार तिब्बती बौद्धअन्तर्गतका चार मुख्य विद्यालयमध्ये एक हो। आकर्षक कलाकृतिले सजिएको यो गुम्बामा करिब ५० भिक्षु अटाउँथे। प्रत्येक दिन धुपबत्ती बालिन्थ्यो।

२०७२ को भुइँचालोले क्षति पुगेपछि भत्काएर नयाँ बनाउन लागिएको हो। भुइँचालोअघि २ आना ३ पैसा क्षेत्रफल थियो, अहिले १४ आना ३ पैसामा निर्माण गर्न लागिएको छ।

क्षेत्रफल बढाउन वरिपरिको केही जंगलसमेत समेटिएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका उपाध्यक्ष ज्ञानु लामाले बताए।

प्रकाशित मिति: : 2019-05-20 08:33:35

प्रतिकृया दिनुहोस्