झुक्किएर ‘गलत’ दललाई मत परेपछि मतदाताले चोरऔंला नै काटे

तस्बिरः एजेन्सी

भारतमा एक जना मतदाताले मतदानका क्रममा आफूले झुक्किएर ‘गलत’ पार्टीलाई मत हाल्न पुगेको थाहा पाएपछि आफ्नो चोरऔंला काटेका छन्।

उत्तर प्रदेशबाट मतदान गरेका पवन कुमारले उनको समर्थन रहेको एउटा क्षेत्रीय पार्टीलाई आफ्नो मत दिन चाहेको भए पनि विद्युतीय मतदान यन्त्र (भोटिङ मेशिन) मा धेरै नै चुनाव चिन्हहरू देखेर आफू अलमलमा परेको बताएका छन्।

उनले आफ्नो जीवनमा पहिलो पटक मतदान गरेका र आफूले चाहेको दललाई मत नपरेको थाहा पाएपछि निकै दुःखी बनेका उनका दाजु कैलासचन्द्रले बताए।

मतदानपछि रिसको आवेगमा औंला काटेपछि खिचिएको भिडियो, जुन भारतीय सामाजिक सञ्जालमा छाइरहेको छ, त्यसमा पच्चिस बर्षीय पवनकूमारले आफूले दूर्घटनावश सत्ताधारी भारतीय जनता पार्टीलाई मत हाल्न पुगेको बताएका छन् ।

‘म हात्ती चुनाव चिन्हमा मतदान गर्न चाहन्थें, तर मैले झुक्किएर फूल चिन्हमा मत हालेँ,’ पवन कुमारले यसो भनेको उक्त भिडिओमा सुन्न सकिन्छ।

सत्ताधारी भारतीय जनता पार्टीको चुनाव चिन्ह कमलको फूल हो भने, एउटा क्षेत्रीय शक्तिशाली पार्टी बहुजन समाज पार्टीको चुनाव चिन्ह हात्ती हो। उक्त क्षेत्रमा बहुजन समाज पार्टीले अन्य दुई क्षेत्रीय पार्टीहरूसँग गठबन्धन गरेर भारतीय जनता पार्टीलाई चुनौति दिइरहेको छ ।

भारतमा थुप्रै क्षेत्रीय पार्टी र गठबन्धनहरू पनि छन् जसले गर्दा मतदानका बेला मतदाता अन्योलमा पर्ने सम्भावना हुने गर्छ ।पवन कुमारले बिहीवारको निर्वाचनमा भारतको उत्तर प्रदेश राज्यको बुलन्द शहर क्षेत्रमा मतदान गरेका थिए।

भारतीय लोकसभा निर्वाचनको दोस्रो चरणमा सरदर ६१.१२ प्रतिशत मत खसेको बताइएको छ ।

भारतमा सात चरणमा आम निर्वाचन भैरहेको छ र मे २३ तारिखका दिन मतगणना हुनेछ । यो निर्वाचनमा मतदानका लागि योग्य मतदाताको सङ्ख्या ९० करोड छ र यही कारणले पनि यो निर्वाचन संसारको सबैभन्दा ठूलो निर्वाचन हो ।

प्रकाशित मिति: : 2019-04-19 21:43:52

प्रतिकृया दिनुहोस्