बजेट प्राथमिकता हाइ काढ्दै लेखेकाे निबन्धजस्तो: भट्टराई

पूर्वप्रधान तथा अर्थमन्त्री डा. बाबुराम भट्टराईले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी मात्रै भएको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै डा. भट्टराईले बजेटका सिद्धान्त र प्राथमिकता निर्धारण गर्दा निरन्तरतामा क्रमभंग गर्नुपर्नेमा त्यस्तो नदेखिएको टिप्पणी गरेका हुन्।

आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुने क्रममा संसदमा आफ्नो धारणा राख्दै पूर्वप्रधानमन्त्री भट्टराईले सिद्धान्त र प्राथमिकता निर्माण गर्दा अर्थमन्त्री स्वयंले आफैँमाथि न्याय नगरेको बताए।

उनले भने, ‘बजेटका सिद्धान्त र प्राथमिकता अर्धनिद्रामा भएको मान्छेले लेखेजस्तो देखिएको छ।’ उनले बजेटका सिद्धान्त र प्राथमिकतामा वैचारिक अलमल र अस्पष्टता रहेको बताए।

उनले अगाडि भने, ‘अर्धनिद्रामा भएको मान्छेले हाइ काढ्दै अल्छी लागी लागीकन निबन्ध लेखेजस्तो कर्मकाण्डी प्रकारको दस्तावेज आयो।’

उनले बिरालो बाँधेर श्राद्ध गरेजसरी सरकारले बजेटका प्राथमिकता र सिद्धान्त निर्धारण गरेको दाबी समेत गरे। संघीयताको कार्यान्वयन भइसक्यो भन्ने भनाइ सही नभएको भन्दै उनले नीति तथा कार्यक्रमजस्तै सिद्धान्त र प्राथमिकतामा चालू आर्थिक वर्षका बारेमा सरकारले गरेको विश्लेषण तथ्यसँग मेल नखाएको बताए।

संघीयता कार्यान्वयनको सिंगो पक्ष बाँकी नै रहेको बताउँदै उनले नीति तथा कार्यक्रममा सरकारको दम्भ देखिएको टिप्पणी गरे। व्यापारघाटा बढेको अवस्थामा निर्यातमा सुधार आएको विषय सत्य नभएको दाबी गरे। उच्च परिमाणमा आन्तरिक तथा बाह्य लगानी परिचालन भएको भन्ने सत्य नभएको टिप्पणी गरे।

प्रकाशित मिति: : 2019-05-12 12:54:36

प्रतिकृया दिनुहोस्