नारायणहिटीभित्र खोला छ बाहिर हरायो

१. बूढानीलकण्ठबाट लाजिम्पाट हुँदै आएको खोला उत्तरढोका र गैरीधाराको बीचबाट नारायणहिटीभित्र छिर्छ । २. नारायणहिटीभित्र पनि खोला साँघुरो छ, तर बगेको स्पष्ट देखिन्छ, जयनेपाल हलअगाडिको पर्खालसम्म खोला छ । ३. जयनेपाल हलबाट दक्षिणतर्फ कमलादी मोडसम्म खोलाको नामोनिसान छैन, खोला भूमिगत बनाएर भव्य भवन बनेका छन् 

काठमाडौंको बाँसबारी–चन्डोलबाट नारायणहिटी–कमलादी हुँदै बागमतीतर्फ बग्ने टुकुचा (इच्छुमती) खोलाको करिब पाँच सय मिटर खण्ड नक्साबाटै गायब भएको छ । काठमाडौं प्लाजादेखि जयनेपाल हलसम्मको करिब पाँच सय मिटर टुकुचा खोला नापीनक्साबाटै गायब भएको छ । खोला बग्ने ठाउँ ६० भन्दा धेरै कित्तामा विभाजन गरी व्यक्तिका नाममा दर्ता गरिएको छ । जग्गामा ६ तलेभन्दा अग्ला भवन बनेका छन् । सबै व्यापारिक प्रयोजनमा प्रयोग भएका छन् । 

काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त डा. भाइकाजी तिवारीले काठमाडौं प्लाजादेखि जयनेपाल हलसम्मको पाँच सय मिटर लम्बाइको टुकुचा खोला नक्साबाटै गायब भएको बताए । उनले भने, ‘काठमाडौं महानगरपालिकाको अनुरोधमा हामीले टुकुचा खोलामा मिचिएको जग्गा खोजी गर्‍यौँ । स्थलगत अध्ययनमा पनि टोली गए । खोला बग्ने ठाउँमा पक्की घर बनेको पाइयो । हामीले नक्सा अध्ययन गर्‍यौँ । नापी कार्यालयलाई पत्र लेख्यौँ । नापीले त्यस क्षेत्रमा खोला नै गायब भएको जवाफ पठायो । हामी चकित परेका छौँ ।’

प्रकाशित मिति: : 2019-05-02 18:51:49

प्रतिकृया दिनुहोस्