नेपालमा रहेका ४८ उत्तर कोरियालीको भिसा रद्द

तस्बिर:एजेन्सी

सरकारले नेपालमा रहेको उत्तर कोरियालीहरूको व्यावसायिक भिसा रद्द गरेको छ। लगानी फिर्ता गराउने निर्णय गरेपछि सरकाले एकैपटक ३९ जना उत्तर कोरियाली नागरिकहरूको भिसा रद्द गरेको हो।

राष्ट्रसङ्घका कडा प्रतिबन्धहरूको सामना गरिरहेको उत्तर कोरियाबाट नेपालमा भइरहेका व्यावसायिक गतिविधिहरूलाई लिएर पश्चिमा शक्तिराष्ट्रहरूले चासो प्रकट गरेका थियो। त्यसपछि नेपालले गत नोभेम्बर महिनाभित्र सबै लगानी फिर्ता लग्न उत्तर कोरियालीहरूलाई निर्देशन दिएको थियो।

सो निर्णय बमोजिम वैदेशिक लगानी स्वीकृति गर्ने निकाय उद्योग विभागले उत्तर कोरियाली लगानीकर्ताहरूलाई तीन पटकसम्म पत्र काटेर स्वदेश फर्कन निर्देशन दिएको थियो।

उनीहरूले अटेर गरेपछि अध्यागमन विभागले उनीहरूको भिसा रद्द गरी स्वदेश फर्काइदिएको अधिकारीहरू बताउँछन्। उनीहरूका अनुसार भिसा रद्द गरिएका ४८ जनामध्ये ३९ जना उत्तर कोरिया फर्किसकेका छन्।

बाँकी रहेका पाँचजना महिला र चारजना पुरुषलाई पनि एक साताभित्रै स्वदेश फर्काइने विभागका निर्देशक लिलाधर अधिकारीले बताए।

स्वदेश फर्काइएका उत्तर कोरियालीहरूले आफ्नो लगानी फिर्ता लानेबारे भने चासो नदिएको अधिकारीहरू बताउँछन्। उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले हालसम्म उत्तर कोरियालीहरूले लगानी फिर्ताका लागि निवेदन नदिएको बताए।

प्रकाशित मिति: : 2019-12-13 12:35:51

प्रतिकृया दिनुहोस्