प्रहरीले कुटपिट गरेको विरोधमा पत्रकारहरुद्वारा दशरथ रंगशालामा धर्ना

तस्बिर: बिएल

प्रहरीले कुटपिट गरेको विरोधमा पत्रकारहरुले काठमाडौंको दशरथ रंगशालामा धर्ना दिएका छन् ।

त्रिपुरेश्वरमा राष्ट्रिय खेलकुद परिषदको मुख्य प्रवेशद्वार पुगेका नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य तथा नागरिक दैनिकका सञ्चारकर्मी चापागाईलाई नेपाल र भुटानबीच हुने फुटबल प्रतियोगिताको फाइनल खेलको टिकट नपाएकोमा विरोध गरिरहेका फुटबल प्रेमीहरुलाई प्रहरीले कुटपिट गरेको तस्विर लिने क्रममा प्रहरीले कुटपिट गरेका थिए। प्रहरीको कुटाईबाट उनको कानमा चोट लागेको छ।

सञ्चारकर्मी चापागाईलाईमाथि कुटपीट गरेको विरोधमा पत्रकारले विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले रिपोर्टिङका क्रममा पटक पटक दुर्व्यवहार गरेको भन्दै १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को समापन समारोह बहिस्कार गर्ने चेतावनी दिएका छन्। पत्रकारहरु दशरथ रंगशालाबाहिर प्लेकार्डसहित धर्नामा बसेका छन्।

नेपाल खेलकुद पत्रकार मञ्चले विज्ञप्ति जारी गरी पत्रकारमाथि दुव्र्यवहार गर्ने प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरलगायत प्रहरीलाई तत्काल कारबाही गर्न माग गरेको छ। मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीद्वारा जारी विज्ञप्तिमा १३ औं सागको सुरक्षा समितिमा नेपाल प्रहरी महानिरीक्षक स्वयं संयोजक रहेको स्मरण गराउँदै मंगलबारको घटनाले घटनाले प्रहरीको सुरक्षा रणनिति तथा ज्यादती थप उजागर भएको बताएको छ ।

देशले राष्ट्रिय गौरवको कार्यक्रमका रुपमा आयोजना गरेको दक्षिण एसियाको सबैभन्दा ठूलो खेलमेलाको समाचार संकलन गर्न गएका पत्रकारमाथि गरिएको दुर्व्यवहारले नागरिक अधिकारका साथै निर्वाध रुपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने न्युनतम लोकतान्त्रिक अधिकारको समेत हनन भएको मञ्चले उल्लेख गरेको छ ।

नेपाल पत्रकार महासंघले पनि विज्ञप्ति जारी गरी पत्रकार सुमन चापागाईंमाथि प्रहरीले कुटपिग गरेको घटनाको विरोध गरेको छ। पत्रकारमाथि प्रहरी अधिकारीकै नेतृत्वमा प्रहरीले गरेको ज्यादती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको महासंघले बताएको छ।

‘प्रहरीको यो हर्कतले पत्रकारलाई हतोत्साहित र त्रसित बनाउनुका साथै पत्रकार सुरक्षा थप चुनौतीपूर्ण हुने महासंघको ठहर छ । महासंघ प्रहरीबाट भएको यो ज्यादतीको कडा शब्दमा भत्र्सना गर्दै घटनामा संलग्न प्रहरीमाथि कानुनी कारबाही गर्न र प्रेसको संवैधानिक अधिकारको सम्मान गरी पत्रकारलाई निर्वाध र भयरहित काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गर्दछु महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: : 2019-12-10 15:33:01

प्रतिकृया दिनुहोस्