पत्रकार दाहालको हत्या भएको आशंका,कोठा भित्रै भेटियो जलेको अवस्थामा शव

तस्बिर: बिएल

पत्रकार जयप्रसाद दाहालको शव आफ्नै घरको कोठा भित्र जलेको अवस्थामा आइतबार बिहान फेला परेको छ।

विराटनगर महानगरपालिका–२ शनिहाटमा रहेको दुई तले घरको पहिलो तालको बीच कोठा भित्र घाँटीमा धारिलो हतियार प्रहार गरिएको र जलेको अवस्थामा शव भेटिएको हो। घटनास्थलमा रगत लागेको चक्कु पनि फेला परेको र घाँटीमा धारिलो हतियार प्रहार गरेको चोट रहेको पाइएपछि घटनालाई शंकास्पद मानिएको छ।

दाहालका परिवारका सदस्यसँग उनी काठमाडौंमै बस्दै आएका थिए। विराटनगरमा रहेको घर र मोरङको कटहरीमा रहेको खेती बिक्रीका लागि भनेर दाहाल शनिबार दिउँसो विराटनगर आएको खुलेको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए।

विराटनगर आएर शनिहाटको उत्तरतर्फको घरमा उनी एक्लै बसेको र त्यहीं घाँटी काटिएको तथा जलेको अवस्थामा शव भेटिएको खुलेको छ। अधिकारीकाअनुसार दाहालको पेटदेखि तलको सबै भाग जलेको, आन्द्रा बाहिर निस्किएको र सुतेको खाटबाट भूँइमा खसेको अवस्थामा शव फेला परेको थियो। सुरुमा सुतेका समयमा खाना पकाउने ग्यास लिक भएर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको थियो।

घटनास्थलमा एउटा कोसी ग्यासको सिलिन्डर र दाहालले प्रयोग गर्ने मोबाइल डढेको अवस्थामा भेटिएको छ। ग्यासको पाइप जलेर तलैसम्म पुगेको भए पनि सिलिन्डर भने जस्ताकोतस्तै छ। कोठा भित्र पूरै धुवाँ आइरहेको देखेपछि ग्यास सिलिन्डर भने प्रहरी घटनास्थलमा पुग्नु अघि नै स्थानीयले बाहिर आँगनमा निकालिसकेका थिए।

प्रहरीकाअनुसार शनिबार दिउँसो कामाडौंबाट विराटनगर आएका दाहाल साँझ राधेश्याम दराकको घरमा खाना खाएर आफ्नो घर पुगेको खुलेको छ। दाहालको शव भेटिएको घर राधेश्यामले २७ वर्षदेखि व्यापारिक प्रयोजनका लागि भाडामा प्रयोग गर्दै आएका थिए। दाहालले शनिबार साँझ दराककैमा खाना खाएको अनुसन्धानबाट खुलेको छ।

दराकलाई प्रहरीले आफ्नो निगरानीमा राखेको छ। धुवाँले ढाकेको कोठा भित्र शव देखेपछि घटनाका बारेमा आफूले जानकारी दिएको उनले प्रहरीलाई बताएका छन्। दराकले दाहाललाई पनि भेट्न र कोठा सार्ने क्रममा आफ्नो छुटेको इन्भटर लिन आउँदा घटनाका बारेमा चाल पाएको प्रहरीलाई बताए ।

एसपी अिधिकारीकाअनुसार घटना अनुसन्धानका लागि धरानस्थित संघीय प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर पनि झिकाइएको छ। ‘घटनालाई गम्भीर रुपमा लिइएको छ,’ उनले भने, ‘हत्या हो कि हैन भनेर यसै भन्न सक्ने अवस्था नभए पनि विशेष ढंगले अनुसन्धान अघि बढाइएको छ।’

शवलाई पोस्टमार्टमका लागि आइतबार साँझ विराटनगरकै कोसी अस्पतालमा लगिएको जानकारी एसपी अधिकारीले दिए।

 

प्रकाशित मिति: : 2019-12-09 13:04:16

प्रतिकृया दिनुहोस्