नेविसंघद्वारा गृहमन्त्रीको राजीनामा माग

तस्बिर: बिएल

कोहलपुर घटनाको विरोधमा नेपाल विद्यार्थी संघ नेविसंघले काठमाडौंमा प्रदर्शन गरेको छ ।

आइतबार बाँकेको कोहलपुरमा प्रहरीले विद्यार्थीहरुमाथि दमन गरेको भन्दै नेविसंघले काठमाडौंको चाबहिलमा विरोध प्रदर्शन गरेको हो। नेविसंघ काठमाडौं जिल्ला समितिको आयोजना र पशुपति क्याम्पस इकाइ समितिको संयोजनमा गरिएको प्रदर्शनमा सहभागीहरुले प्रहरी दमनको विरोध गर्दै नाराबाजी गरेका हुन्। उनीहरुले गृहमन्त्रीको समेत राजीनामा मागेका छन्।

नेविसंघका काठमाडौं जिल्ला समितिका सभापति मनोज वैद्यले कोहलपुरमा प्रहरीको दमनबाट घाइते भएकाहरुलाई सरकारले निःशुल्क उपचार गर्नुपर्ने र विद्यालय पोशाकमा भएका विद्यार्थीहरुमाथि गोली चलाउन आदेश दिने गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए।

पशुपति क्याम्पसबाट सुरु भएको विरोध ‍¥याली चाबहिल चोक परिक्रमा गरी पुनः पशुपति क्याम्पसमा आएर समापन भएको थियो। आइतबार बिहान एक ट्रकले ठक्कर दिएर कक्षा सातमा अध्ययनरत कोहलपुर–१० की प्रकृति चन्द गम्भीर घाइते भएपछि नेपालगञ्ज–कोहलपुर सडकखण्डमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरका गोली, लाठी र अश्रुग्यास प्रहार गर्दा विद्यार्थीहरुसहित एक दर्जनभन्दा बढी घाइते भएका छन्।

प्रदर्शनकारीको आक्रमणबाट इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेमराज शाहीसहित ९ प्रहरी पनि घाइते भएका छन्। ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी चन्दलाई उपचार गर्न सेनाको हेलीकोप्टरबाट ललितपुरको बीएण्डबी अस्पतालमा ल्याइएको छ।

प्रकाशित मिति: : 2019-12-09 11:33:47

प्रतिकृया दिनुहोस्