अँध्यारो जुम्ला: सोलारमा ठगी, बिजुली अनियमित

तस्बिर: बिएल

२०४० सालमा स्थापित विद्युत गृहका टर्वाइन जीर्ण बन्दै गएका कारण उत्पादनमा गिरावटआएको तीन बढी भैसक्यो। सुरूमा दुई सय किलोवाट उत्पादन भएको बत्ती पछिल्लो समय ८० किलोवाटमा झर्‍यो। परिणाम जुम्ला खलंगाबासीले दुई दिन बिराएर तेस्रो दिनमा मात्र बिजुली बाल्न पाइरहेका थिए।

भारतीय राजदूतावासले जुम्ला सदरमुकाममा भएको विद्युत समस्यालाई समाधान गर्न दुई वटा नयाँ मेसिन जडान गर्ने गरि २ करोड ६३ लाख ७७ हजार सहयोग गरेको थियो। त्यसमा जिल्ला समन्व समितिले ५४ लाख २२ हजार थपेपछि भारतमा निर्माण गरिएका दुई वटा टर्वाइन जुम्ला ल्याइएको थियो।

दबाव होस् वा प्रभाव एकिन कुरा बाहिर नआएको भएपनि नयाँ मेसिनको ठेक्का भने भारतीय कम्पनीलाई नै दिइयो। सामान्यतया टेन्डर आवह्वान गर्दा घटेर काम गर्न तयार हुने कम्पनीलाई दिने चलन छ। तर जुम्लाको विद्युत मर्मतको जिम्मा बढेर टेन्डर हाल्ने कम्पनीलाई दिइएको थियो। मेसो यसैबाट बिग्रिएको साना जल विद्युत उपभोक्ता समितिका अध्यक्ष विष्णु बुढथापा स्वीकार्छन्। त्यसैको परिणाम ४५ लाख रुपियाँ उपभोक्ता समितिले बेहोर्नु पर्‍यो।

१८ महिनाको समय अवधिमा सकाउने सम्झौता गरेको ठेकेदार कम्पनीले तीन वर्ष लगाएर बनायो। तरपनि प्रभावकारी भएन। डिजिटल प्रविधिबाट चल्ने भनिएका दुबै टर्वाइनले काम नगरेपछि खलंगाबासी अनिश्चितकालिन अध्याँरोमा रात गुजारीरहेका थिए।

ठेकेदार कम्पनीले सबै भुक्तान लिएको केही समयसम्म बत्ती बलेको भएपनि दुबै मेसिन बिग्रएपछि दुई दिन बिराएर आउने बत्ती पनि नआउने भयो।

मोबाइल चार्ज र अत्यवाश्यक कामसम्म पनि नहुने स्थिति बन्यो। समस्या समाधानको लागि गएको साउनमा प्रतिनिधि सभा सदस्य गजेन्द्र बहादुर महतले सांसद विकास कोषबाट ५० लाख सहयोग गर्ने बचन दिए। त्यसपछि डिजेल प्लान्ट जडान गरि दैनिक तीन घण्टा बिजुली बाल्ने व्यवस्था मिलाइयो।

यहि अवस्थामा बजारमा वैकल्पिक उर्जाका व्यापारीहरु सक्रिय भए। उनीहरुको चलखेल र जालझेल चुलियो। उनीहरुले सकसम्म सोझाहरुको दिमाग भुटे। यसको प्रत्यक्ष मारमा पर्‍यो, कथित दलित समुदाय।

यसरी दलित समुदायमा खेल्ने एक प्रमुख सोलार जुम्लाका व्यापारी हुन मिन बहादुर मल्ल। जसले सस्तोमा सोलार ल्याइदिने भनि दुई वर्ष पहिलेदेखि चन्दननाथ नगरपालिका, गुठिचौर, तातोपानी र तिला गाउँपालिकाका २ हजार दलितहरुबाट नागारिकता संकलनको गरेका थिए। त्यसरी संकलन गरिएको नागरिकताबाट उनले २ हजार २ सय २ सोलार अनुदानमा ल्याए। उनले गाएको चैत र वैशाखमा चन्दननाथ नगरपालिकामा १ हजार ९५, गुठीचौर गाउँपालिकामा ६ सय १, तातोपानी गाउँपालिकामा ५ सय ९ र तिला गाउँपालिकामा ९० सोलार १५ सयका दरले वितरण गरेका थिए। जसबाट उनले ३३ लाख ३ हजार रुपियाँ संकलन गरे।

मल्लले नागरिकता लिएर ल्याएका सोलार सत प्रतिशत अनुदानको पत्ता लागेपछि दलित अगुवाहरुले विरोध गरे। हाम्रो साझा बहुउद्देश्यी सहकारी संस्थाका अध्यक्ष मनसुर सुनारले चन्दननाथ नगरपालिकाको न्यायिक समितिमा अनुदानका सोलारमा ठगी भएको भन्दै छानविनका लागि उजुरी दिए। उजुरीमाथिको सुनुवाइमा अनुदानको सोलारमा ठगी भएको बाहिरियो।

चन्ददनाथ नगरपालिकाकी उपमेयर अप्सरादेवी न्यौपानेका अनुसार वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रका डिनसँग बुझ्दा एक पैसा पनि लिन नपाउने रहेछ। न्यायिक समितिले व्यापारी मल्ललाई नगरपालिका भित्रका दलितको पैसा फिर्ता गर्न ताकेता लगायो। अटेरी गरेपछि अदालतमा पेश गर्ने निर्णय गरेको उनले बताइन्।

तर न्यायिक समितिले ठगी भएको ठहर गर्दापनि मेयर कान्तिका सेजुवाल भने ठग संरक्षणमा लागेको देखिएको छ। उनले मंसिर १५ गते वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रलाई काटेको पत्रमा विवाद समाधान भैसककोले रकम भुक्तानी दिन भनेकी छिन्। अदालत पठाउने निर्णय भैसक्दा पनि मेयर आफैले भुक्तानी प्रक्रिय अगाडि बढाउन पत्र काट्नु ठगीलाई संरक्षण गर्ने र वैधानिकता दिने काम भएको सुनारले बताए।

सोलार प्राप्त गर्नेहरुका लागि निकै सस्तो देखिन गएपनि मल्लने भने एकै पटक ठुलो परिमाणमा ठगी गरेका छन्। त्यस्तै अनुदानमा आएका सोलाहरु निकै कमसल भएको उपभोक्ताहरुले बताएका छन्। अधिकांशको घरमा जडान गरिएका सोलार नबल्ने भैसकेका छन्। जोडेको एक महिनामै विग्रिएको चन्दननाथ नगरपालिका १० बाहरागाउँका अम्मर सार्कीले बताए। त्यस्तै सोही गाउँका गोविन्द नेपालीको सोलार पनि काम नलाग्ने भैसकेको छ।

लामो समय बिग्रेको बत्ती कार्तिक १२ गते बनेको थियो। त्यसले जुम्लामा एक दिन आउने अर्को दिन नआउने भैरहेको थियो। तर विगत दुई हप्तापछि बत्ती फेरी विग्रेको बुढथापाले बताए। हाल तीन दिन बिराएर एक दिन मात्र बत्ती आउने भैरहेको छ। सामान मगाएको र केही दिनमै बत्ती बन्ने उपभोक्ता समितिले जनाएको छ।

तर धेरै पटक बन्ने र बिग्रने भैरहेकालेले बत्तीको भर नभएको उपभोक्ताहरुको गुनासो छ। अनुदानका सोलरमा ठगी र भारतीय निर्माण कम्पनीले मर्मत गरेको बत्ती बेलाबेलामा बिग्रिरहने भएकाले जुम्ला फेरीपनि अनिश्चितकालीन अँध्यारो धकेलिएको छ।

प्रकाशित मिति: : 2019-12-07 12:37:26

प्रतिकृया दिनुहोस्