उत्तरपुस्तिका परीक्षणमा लापरबाही गरेको भन्दै आन्दोलनमा उत्रिए विद्यार्थी

तस्बिर: बिएल

पूर्वाञ्चल विश्वविद्यालय (पूवि) विरुद्ध विद्यार्थीहरुले शुक्रबारबाट अनिश्चितकालिन ‘रिले अनसन’ थालेका छन्।

उत्तरपुस्तिका परीक्षण (जाँच) मा लापरबाही हुने गरेको दाबी गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीले विराटनगर महानगरपालिका–२ शनिहाटस्थित विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय अगाडि अनसन सुरु गरेका हुन्। पटक–पटक परीक्षा दिँदा पनि अनउत्तीर्ण हुने गरे पनि आफूले लेखेको उत्तरपुस्तिका हेर्दा उत्तीर्ण भएको पाइएको भन्दै विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विराटनगरकै इष्टर्न र आंगिक पुसेट ईञ्जिनियरिङ क्याम्पसनका विद्यार्थीहरू दुई दिनदेखि आन्दोलित थिए। शान्तिपूर्ण रुपमा सुरु गरिएको अनसन प्रत्येक दिन बिहान १० देखि ४ बजेसम्म जारी रहने पुसेटका विद्यार्थी नेता शिवरत्न साहले बताए।

विभिन्न माग राखेर आन्दोलन गरिरहे पनि सुनुवाई नभएपछि थालिएको रिले अनसन माग पूरा नभएसम्म जारी रहने उनको भनाइ छ। आन्दोलनरत विद्यार्थीले यस अघि तोडफोड गर्दा परीक्षा नियन्त्रक र सह–नियन्त्रकको कार्यालयसहित प्रशासन र लेखा शाखामा क्षति पुगेको थियो। विद्यार्थी नेता मनोजकुमार रैताले विगतमा दिइएका ईञ्जिीनियरिङको लिखित परीक्षामा उतीर्ण हुने गरे पनि परीक्षा दिएका विद्यार्थीलाई जानाजान अनउत्तीर्ण गराउने गरेको पाइएको बताए।

विद्यार्थीहरुले हरेक सेमेष्टरमा मौका परीक्षाको व्यवस्था हुनु पर्ने, निष्पक्ष तरिकाले परीक्षाफल सार्वजनिक गर्नु पर्ने, उत्तरपुस्तिका रि–चेकिङको शुल्क पाँच हजारबाट घटाएर पाँच सय बनाउनु पर्ने, उत्तर पुस्तिका परीक्षण र परीक्षाफलमा लापरबाही गर्ने शिक्षक तथा कर्मचारीलाई बर्खास्त गर्नु पर्ने, रि–चेकिङका क्रममा परीक्षाफल परिवर्तन भएको पाइएमा परिवर्तित परीक्षाफल लागू गर्नु पर्ने र उत्तरपुस्तिका कोडिङ गरेर मात्र जाँच गर्न दिने व्यवस्था मिलाइनु पर्ने माग अघि सारेका छन्।

पुसेटबाट स्नातक तहको सिभिल ईञ्जिनियरिङको थेउरी अफ एक्टेक्चर विषयको परीक्षा पाँच पटक दिइसक्दा पनि उत्तीर्ण नभएका विद्यार्थी अमित मण्डलले प्रक्रियागत रुपमै उत्तरपुस्तिका हेर्न माग गरेका थिए । जाँच भइसकेको उक्त उत्तरपुस्तिकाअनुसार आफू उत्तीर्ण भए पनि अनउत्तीर्ण गराइएको उनको दाबी छ । मण्डलले फेल हुने अवस्था नै नरहेको र उत्तरपुस्तिकाबाट उत्तीर्ण भएको देखिने विषय विज्ञले बताएपछि आफू तनावमा परेको बताए। परीक्षा नियन्त्रण कार्यालयको चरम लापरबाही र बेथिती आन्दोलन गर्नु परेको उनको भनाइ छ।

रिजल्ट आएको (नतिजा सार्वजनिक) ३५ दिन भित्र रि–चेकिङका लागि निवेदन दिएर लाग्ने शुल्क बुझाएमा विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले सम्बन्धित परीक्षार्थीलाई जाँच भइसकेको उत्तरपुस्तिका हेर्न पाउने व्यवस्था गरेको छ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक प्राडा. सूर्यप्रसाद संग्रौलाले विद्यार्थीहरुले उठाएका मागहरु नीति र नियममा रहेर सम्बोधन गर्न आफूहरु तयार रहे पनि विद्यार्थी आन्दोलित बनेको बताए। विषय विज्ञलाई देखाएर उत्तरपुस्तिका परीक्षणमा लापरबाही भएको पाइएमा त्यहीअनुरुप अघि बढ्ने संग्रौलाको भनाइ छ। ‘कुनै कमजोरी भए हामी सच्चिन्छौं र सुधारिएर अघि बढ्छौं,’ उनले भने।

विद्यार्थीले सुरु गरेको अनसनस्थलमा भने सुरक्षाका लागि ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ। अनसन सुरु गर्नु अघि विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र पनि बुझाएका छन्। प्रमुख जिल्ला अधिकारी मदन भुजेलले प्रशासनले सुरक्षा मात्रै हेर्ने र यो विश्वविद्यालयसँग सम्बन्धित विषय भएको बताए।

प्रकाशित मिति: : 2019-12-06 22:12:14

प्रतिकृया दिनुहोस्