कोपा अमेरिका–२०२०: अर्जेन्टिना, उरुग्वे र चिली एउटै समूहमा

तस्बिरः एजेन्सी

दक्षिण अमेरिकी क्षेत्रको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता कोपा अमेरिका–२०२० को ड्र सार्वजनिक भएको छ। ४७औं संस्करण अन्तरगत अर्जेन्टिना र कोलम्बियाले आयोजना गर्ने प्रतियोगितामा कूल १२ देशलाई समेटिएको छ। जसमा १० देश अमेरिकी महादेशका टोली छन् भने दुई देशलाई आगन्तुक टोलीका रूपमा सहभागी गराइएको छ।

बुधबार बिहान सार्वजनिक भएको ड्रअनुसार समूह ‘ए’मा बलिया टोलीहरु अर्जेन्टिना, उरुग्वे, चिलीका साथै बोलोभिया,अस्ट्रेलिया र पाराग्वे परेका छन्। यस समूहलाई प्रतियोगिताको ‘ग्रुप अफ् डेथ’का रूपमा हेरिएको छ।

त्यस्तै, समूह ‘बी’मा साबिक विजेता ब्राजिलसँगै उपविजेता पेरु, कोलम्बिया, पाहुना टोली कतार, इक्वेडर र भेनेजुयला परेका छन्।

कतारलाई सन् २०२२ को विश्वकप आयोजक देशका हैसियतमा प्रतियोगितामा स्थान दिइएको हो।

प्रतियोगिता सन् २०२० को जुन १२ बाट सुरु भएर जुलाई १२ मा सकिनेछ। यसअघिको प्रतियोगितमा ब्राजिलले पेरूलाई हराएर उपाधि जितेको थियो।

प्रकाशित मिति: : 2019-12-04 10:24:47

प्रतिकृया दिनुहोस्