जिल्ला प्रहरी कार्यालय मोरङ सम्मानित

फाइल तस्बिर: बिएल

३१औं अन्तराष्ट्रिय एड्सविरूद्धको दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङ सम्मानित भएको छ ।

एचआइभी एड्स संक्रमण, न्यूनीकरण तथा रोकथामको लागि विगत १ वर्षभन्दा बढी समयदेखि लागूऔषधविरूद्धको अभियान संचालन गर्दै महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उक्त कार्यालयलाई अभियानको उच्च मुल्याङ्कन गर्दै सम्मानपत्र प्रदान गरिएको हो ।

कार्यक्रममा १ नम्बर प्रदेशका सामाजिक बिकासमन्त्री जीवन घिमिरेले जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीलाई सम्मानपत्र प्रदान गरे। साथै एविसी नेपाल, एचआइभी कार्यरत संघसंस्थाहरूको संजाललाई समेत एड्सविरूद्धको कार्यक्रममा उच्च योगदानका लागि सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा सामाजिक बिकासमन्त्री घिमिरे लगायतका अतिथिहरुले एड्सविरूद्धको अभियानको सफलताको शुभकामना दिदै सरकारी तथा सरोकारवाला निकायहरू मिलेर जनचेतनामूलक कार्यक्रम मार्फत यसलाई रोकथाम तथा न्यूनीकरण गर्दै लैजानुपर्ने विचार व्यक्त गरेका थिए।

१ नम्बर प्रदेश सामाजिक बिकास मन्त्रालय र जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा विराटनगर देवकोटा चोकबाट शुरु भएको प्रभातफेरी हनुमान मन्दिर नजिकैको प्राङगणमा सभामा परिणत भएको थियो । कार्यक्रममा एविसी नेपाल, विश्व सेवा बिस्तार, माईती नेपाल, एचआइभी कार्यरत संघसंस्थाहरूको संजाल मोरङ लगायतका संस्थाका पदाधिकारीहरू, क्यान सेन्टरका पदाधिकारीहरू, बिद्यार्थी लगायत प्रहरी कर्मचारीहरू समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: : 2019-12-02 18:08:47

प्रतिकृया दिनुहोस्